add post
  • Terai Nepal
  • २०७७ बैशाख ११ गते, बिहीबार १४:२५ मा प्रकाशित

आफ्नो राजीनामाको मागलाई विश्व स्वास्थ्य संगठनका प्रमुखले गरे खारेज

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस आधानोम गेब्रेयेसुुसले आफ्नो संस्थालाई अमेरिकाले दिने आर्थिक सहयोग रोक्ने निर्णयमा पुनर्विचार गर्ने आशा व्यक्त गरेका छन् । केही अमेरिकी सांसदहरूले उनको राजीनामा मागेको भए पनि उनले त्यसलाई खारेज गर्दै जीवनहरू जोगाउने काममा लागिरहने बताए ।

संगठनले महाव्याधिलाई ढाकछोप गर्न खोजेको र यसको व्यवस्थापनमा गल्तीहरू गरेको आरोप लगाउँदै अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले संगठनलाई दिँदै आएको आर्थिक सहयोग अस्थायी रूपमा बन्द गर्ने बताएका थिए ।

गेब्रेयेसुसले संगठनमा लगानी गर्नु अमेरिकाका लागि महत्त्वपूर्ण रहेको र अरूलाई सहायता गर्ने मात्र नभई अमेरिकालाई सुरक्षित राख्न पनि लगानी आवश्यक रहेको बताए ।

जेनेभामा रहेको विश्व स्वास्थ्य संगठनको सबभन्दा ठूलो सहयोगी दाता अमेरिका नै हो । प्रत्येक वर्ष उसले लाखौं डलर सहायता उपलब्ध गराउँछ ।

वाशिङटनमा अधिकारीहरूले बुधवार बताएअनुसार, विश्व स्वास्थ्य संगठनको नयाँ फन्डिङमा रोक लगाइएको र यो ६० देखि ९० दिनसम्म लागू हुने बताए ।

अघिल्लो साता अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सका रिपब्लिकन सांसदहरूको एक समूहले टेड्रोसको राजीनामाको शर्तमा अमेरिकी सहायता दिइने शर्त ट्रम्पले राख्नुपर्ने सुझाव दिएका थिए ।

विश्व स्वास्थ्य संगठनको इमर्जेन्सिन प्रमुख डा माइक रायनले अमेरिकी सहायता रोकिएमा बालबालिकाको खोफ पोलियो निर्मूल प्रयास तथा जोखिममा रहेको मानिसको अत्यावश्यक स्वास्थ्य सेवा र ट्रमा व्यवस्थापनमा समस्या आउने बताएका छन् ।