add post
  • Terai Nepal
  • २०८० असार १२ गते, मंगलवार १०:३२ मा प्रकाशित

साफ च्याम्पियनसिप : नेपालले आज पाकिस्तानसँग खेल्दै

काठमाडौं। साफ च्याम्पियनसिप-२०२३ को अन्तिम खेलमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । सेमिफाइनल होडबाट बाहिरिसकेको नेपालका लागि यो खेल प्रतिष्ठाको लडाइँ हुनेछ ।

भारतको बेंग्लोरस्थित कान्तिरभा स्टेडियममा नेपाली समयअनुसार अपराह्न पौने चार बजे हुने खेलमा नेपाल पहिलो जितको खोजीमा हुनेछ ।

समूह ‘ए’ अन्तगर्त आफ्नो पहिलो खेलमा नेपाल बलियो कुवेतसँग ३ – १ गोलले हारेको थियो । भारतसँग २ – ० ले पराजित भएपछि भिन्सेन्जो अल्बर्टो एनेसको टोली एक खेल अघि नै बाहिरिएको हो । नेपाल सन् २०१५ पछि पहिलो पटक समूह चरणबाट बाहिरिएको हो ।

यता भारत र कुवेत दुवैसँग समान नतिजा ४ – ० ले हारेको पाकिस्तान पनि अन्तिम खेलमा जित निकाल्न चाहन्छ । युरोपेली लिग खेल्ने ९ भन्दाबढी खेलाडी रहेको पाकिस्तानले सोचे अनुरुप भने नतिजा हात पार्न सकेन ।

साफमा यी दुईबीच सन् २०१८ पछि पहिलो पटक भेट हुन लागेको हो । बंगलादेशको बंगबन्धु रंगशालामा भएको भेटमा पाकिस्तान २ – १ गोलले विजयी भएको थियो । त्यसपछि प्रतिबन्ध झेलेको पाकिस्तानले अघिल्लो वर्ष नेपालसँग मैत्रीपूर्ण खेल खेल्दै अन्तर्राष्ट्रिय खेलमा कमब्याक गरेको थियो।

नेपालमा भएको उक्त खेलमा घरेलु टोली १ – ० गोलले बिजयी भएको थियो । समूह ‘ए’ बाट भारत र कुवेतले अन्तिम चारमा स्थान बनाइसकेका छन् । आज राति पौने ८ बजे सोही स्थानमा हुने खेलबाट समूह विजेता र उपविजेता टुंगो लाग्नेछ ।