add post
  • Terai Nepal
  • २०७७ जेष्ठ ७ गते, बुधबार २३:४९ मा प्रकाशित

नेपालले जारी गरेकाे नयाँ नक्सा भारतद्वारा अस्वीकार

भारतले नेपालले एकतर्फी रुपमा नयाँ नक्सा जारी गरेको भन्दै त्यो आफूलाई मान्य नहुने प्रतिक्रिया दिएको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालले बुधबार जारी गरेको नयाँ नक्सा मान्य नहुने प्रतिक्रिया भारतले दिएको हो ।

भारतले आफ्नो सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्न नेपाललाई आग्रह समेत गरेको छ । बुधबार नेपालले सार्वजनिक गरेको नयाँ नक्साका बारेमा प्रतिक्रिया दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालले एकतर्फी रुपमा भारतीय भूमि आफ्नो नयाँ नक्सा समेटेको आरोप लगाए ।

उनले भनेका छन्, ‘नेपालको यो एक पक्षीय कदम ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन। दुई देशबीचको सीमा विवाद वार्ताका माध्यमबाट समाधान गर्ने समझदारीको विरूद्ध छ । यस्तो बनावटी रूपमा गरिएको भू-भाग बढोत्तरीको दाबी भारतलाई मान्य छैन।’

प्रवक्ता श्रीवास्तवले नेपालको कदमलाई ‘कृत्रिम विस्तार’ भनेका छन् । उनले भनेका छन्, ‘भौगोलिक दाबीमा कृत्रिम वृद्धि गर्ने यस्तो कदमलाई भारत अस्वीकार गर्छ ।’

गत र्कािर्तकमा जम्मु कस्मिरको राज्यको मान्यता हटाएर केन्द्र शासित क्षेत्र बनाएपछि भारतले कालापानी क्षेत्र समेटेर आफ्नो नयाँ नक्सा जारी गरेको थियो। भारतले एकतर्फी रुपमा नेपाली भूमि लिपुलेक समेत समावेश गरी नयाँ नक्सा जारी गरेपछि सीमा मुद्दा पनि चर्किएको थियो।

सरकारले बुधबार दिउँसो नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बुधबार दिउँसो कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेकी हुन् ।

नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम हुनेछ । अतिक्रमित भूभागको क्षेत्रफल ३३५ वर्गकिलोमिटर छ । अतिक्रमित भूभागबाहेकको नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर छ ।