add post
  • तराई नेपाल
  • २०७८ मंसिर १७ गते, शुक्रबार २१:३७ मा प्रकाशित

गाडीको विषयमा प्रदेश-२ मा मन्त्री र राज्यमन्त्रीबीच विवाद !

१७ मंसिर, जनकपुरधाम । प्रदेश २ को आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय नेकपा माओवादी केन्द्रका नेता भरत साह मन्त्री र रुवी कर्ण राज्यमन्त्री छन् । पछिल्लो समयमा यी मन्त्री र राज्यमन्त्रीबीच गाडीको बिषयलाई लिएर विवाद देखिएको छ ।

राज्यमन्त्री कर्णले आफूलाई पुरानो गाडी दिएको र अहिले बिग्रेका कारण सार्वजनिक गाडी चढ्नुपरेको भन्दै विरोध जनाएकी छन् । साउन २ गते आफूले पद तथा गोपनीयताको शपथ गरेपछि दिएको ज १ झ ४४२ नम्बरको गाडी ब्रेकफेल भएर दुर्घटनामा परेको उनले बताइन् ।

‘१३ मंसिरमा जनकपुरबाट सप्तरीतर्फ जाने क्रममा ब्रेक फेल भई ढल्केबरमा दुर्घटना नै भयो’ उनी भन्छिन्, ‘यो दुर्घटनामा मलाई र चालकलाई सामान्य चोटपटक लागेको थियो ।’

दुर्घटनापछि उनका स्वकीय सचिवले मन्त्री भरत साह चढ्ने ज १ झ ४४३ नम्बरको गाडी लिएर राज्यमन्त्रीलाई उद्धार गर्न पुगेका थिए । त्यसयता उनले यही गाडी चढ्दै आएकी थिइन् । तर मंसिर १५ गते उनले सो गाडी लिएर काठमाडौं जान खोज्दा मन्त्री साहले दिएनन् ।

त्यसपछि आफू राति साढे ८ बजे सार्वजनिक बस चढेर काठमाडौं गएको राज्यमन्त्री कर्णले बताइन् । ‘यो घटना अर्थमन्त्री शैलेन्द्र साहलाई पनि जानकारी गरायौं’ उनले भनिन्, ‘तर काठमाडौंमा दुई दिनको बसाइको क्रममा प्रदेश सरकार र मन्त्रालयले कुनै चासो दिएन ।’

राज्यमन्त्री कर्णले गाडी पठाइदिन मन्त्रालयका सचिव रामकुमार महतोलाई भनिन् । तर उनले आफू मन्त्रालयमा नभएको भन्दै गाडी पठाउन नसक्ने जवाफ दिए । त्यसपछि आफू सार्वजनिक गाडी चढेर फर्किएको राज्यमन्त्री कर्णले बताइन् ।

मन्त्री भन्छन् : सबै गाडी बिग्रेको छ

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयमा नौ वटा गाडी छ । मन्त्री भरत साहले ज १ झ ४४३ नम्बरको गाडी चढ्दै आएका छन् भने राज्यमन्त्री कर्णको ज १ झ ४४२ नम्बरको गाडी बिग्रेको छ । एउटा गाडी मन्त्रालयका सचिव रामकुमार महतोले चढिरहेका छन् । अन्य गाडी कहाँ छन् ? भन्ने जिज्ञासामा मन्त्री साह भन्छन्, ‘सबै बिग्रिसकेको छ ।’

तीन वटा गाडी बनाउन ग्यारेजमा राखिएको र अन्य गाडी बिग्रेको अवस्थामा थन्किएको मन्त्री साहले बताए । ‘यहाँ आएदेखि नै सबै गाडी बिग्रेको थियो’ उनी भन्छन्, ‘मर्मत गरेर चढ्दै आएको छु ।’ उनले नयाँ गाडी खरिदको प्रक्रिया अघि बढाउने बताए ।

यद्यपी मन्त्रालय स्रोतका अनुसार मन्त्री साहले मन्त्रालयको एउटा गाडी आफ्नो गाउँ महोत्तरीको गौशालामा राखेका छन् भने अर्काे एउटा काठमाडौंमा राखेका छन् । आफ्ना परिवारका सदस्य चढ्नका निम्ति उनले गाडी दिएको स्रोतको दावी छ ।

मन्त्री साह भने यो कुरा मान्न तयार छैनन् । उनी भन्छन्, ‘यो सबै कुरा झुटो हो ।’

मन्त्रालयका सचिव महतो आफू मन्त्रालयमा नयाँ भएकाले धेरै कुराको जानकारी नभएको र यस सम्बन्धमा बुझ्ने काम गरिरहेको बताए ।

Source:www.onlinekhabar.com

तराईसबै