राष्ट्रिय जनगणना २०७८मा आफ्नो पहिचान नछुटाउनुस् साँसद चौधरी
१७ असार ।
पूर्व खेलकुद राज्य मन्त्री एवम् सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४ का साँसद तेजुलाल चौधरीले राष्ट्रिय जनगणनामा आफ्नो पहिचान लेख्न नछुटाउन थारु समुदायलाई आग्रह गरेका छन् । थारु कल्याणकारिणी सभा सप्तरी तथा नगर समिति शम्भुनाथद्वारा सप्तरीको कठौनामा बुधबार संयुक्त रुपमा आयोजित राष्ट्रिय जनगणना २०७८ सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै पूर्व मन्त्री एवम् साँसद चौधरीले राष्ट्रिय जनगणना २०७८ लाई उत्साहपूर्वक सफल बनाउन आग्रह गरे । जनगणनाले राष्ट्रिय योजना तयार पार्छन्, साँसद चौधरीले भने, यो महाअभियानलाई उत्साहपूर्वक सफल पार्न सबै क्षेत्रका कर्तव्य हुन्छ । साँसद चौधरीले जनगणना बिषयक अन्तरक्रिया कार्यक्रम आयोजाना गरेकोमा थारु कल्याण कारिणी सभा जिल्ला तथा नगरलाई धन्यवाद व्यक्त गरे । थारु समुदायका लागि यो महत्वपूर्ण अवसर हो, साँसद चौधरीले भने, दस बर्षपछि पाउने मौकाको उपयोग गर्दै आफ्नो पहिचान अनिवार्य लेख्न नछुटाउनुस् ।
नेपाल आदिबासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङले जनगणनामा आफ्नो जाती थारु, भाषा थारु, धर्म बौद्ध उल्लेख गर्न थारु समुदायलाई आग्रह गरे । उनले अन्य भाषामा छिमेकीले बोल्ने आदिबासीको भाषा लेखाउनुपर्नेमा जोड दिए ।
थारु कल्याण कारिणी सभा सप्तरीका अध्यक्ष शिव नारायण चौधरी थारुको अध्यक्षतामा आयोजित कार्यक्रममा भाषाविद् बुधसेन चौधरी, अर्का भाषाविद् प्राध्यापक महेश प्रसाद चौधरी, राष्ट्रिय जनगणना २०७८ का प्रशिक्षक योगेन्द्र चौधरी, थारु कल्याणकारिणी सभाका केन्द्रिय सदस्य सावित्री देवी चौधरी, शम्भुनाथ नगरपालिका वडा नम्बर ५ का अध्यक्ष हिरण प्रसाद चौधरी, वडा नम्बर ७ का अध्यक्ष गोपाल प्रसाद चौधरी, वडा नम्बर ११ का अध्यक्ष शम्भु प्रसाद चौधरीलगायतले आ–आफ्नो बिचार व्यक्त गरे ।
यसैगरी यूवा नेता सरोज चौधरी, बुद्धिलाल विद्या मुनर क्याम्पस भगवतपुरका प्रमुख महेश चौधरी, नमूना माध्यमिक विद्यालय भगवतपुरका प्रधानाध्यापक तुलसी दास चौधरी, थारु यूवा सभाका केन्द्रिय सदस्य सुरेश चौधरीलगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
नेपाल आदिबासी जनजाति महासंघ नगर समवन्य परिषद् शम्भुनाथका अध्यक्ष श्रीनारायण चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत थारु कल्याण कारिणी सभा क्षेत्र नम्बर ३ का कोषाध्यक्ष निर्मला चौधरीले गरिन् । थारु कल्याण कारिणी सभा सप्तरीद्वारा जिल्लाको बिभिन्न स्थानमा राष्ट्रिय जनगणना २०७८ सम्बन्धि जनचेतनामूलक कार्यक्रम निरन्तर रुपले गर्दै आएका छन् ।