add post
  • Terai Nepal
  • २०७७ भाद्र ६ गते, शनिबार १३:१७ मा प्रकाशित

घरघरमा चौठीचाँदको तयारी, गणेश मन्दिरमा निषेधाज्ञाको प्रभाव, चहलपहल देखिएन

आज भदौ शुक्ल चतुर्थी भगवान श्री गणेशको पुजा आराधना गरि मनाइदै छ भने तराई मधेशमा प्राथमिकताका साथ मनाइने चौठचन्द्र (चौरचन, चौठीचाँद) पनि श्रद्धा र भक्तिका साथ मनाइदै छ । आजको दिनलाई गणेश चतुर्थी समेत रहेकाले हरेक दुःख र कष्ट हर्ता भगवान श्री गणेशको पुजा आराधना गरि मनाइदै छ । साथै आजै साँझ घरको आँगन तथा छतमा लिपपोत गरि स–परिवार चन्द्रमा सहित देवीदेवतालाई प्रसाद चढाएर चौरचन पर्व मनाइने छ ।

जनकपुरधाममा रामचौक स्थित गणेश मन्दिरमा विशेष सरसजावट र पुजापाठको व्यवस्था गरिएको छ । यद्यपि यस वर्ष कोरोना भाइरस महामारीका कारण निषेधाज्ञा लगाइएकाले स्थानिय प्रशासनले भक्तजन तथा दर्शनालुहरुको भिडभाड हुन दिनेछैन । श्री गणेश युवा कमिटी मन्दिर स्थित भगवान श्री गणेश र श्री हनुमान जीको प्रतिमा सहित मन्दिरलाई नै दुल्ही झै सजाएका छन् ।

यद्यपि महामारीका कारण उत्पन्न अवस्थाका कारण भिडभाड गर्ने अवस्था समाजकै हितमा पनि नरहेकाले भिडभाड नगर्न र आउन नचाहनेले घर घरमै पुजापाठ गर्न कमिटिले आग्रह गरेको छ । निषेधाज्ञाका कारण गणेश मन्दिर सुनसान देखिएको छ । श्रद्धालुहरुको चहल पहल पनि न्युन छ । यद्यपि कमिटिले सुरक्षा सर्तकता, सुरक्षा समाग्री सहित समाजिक दुरी बनाएर भिडभाड नगरि दर्शन र पुजापाठका लागि व्यवस्था मिलाइएको बताए । मन्दिरमा पुजापाठमा कुनै कमि रहन नदिने तर अन्य कार्यक्रमहरु भने स्थगित गरेको कमिटिको भनाई छ ।

यस्तो छ चौरचन पर्वको मान्यता र महत्व

मधेसमा आज चौरचन पर्व श्रद्धापूर्वक मनाइँदैछ । चन्द्रमाको पूजासँग सम्बन्धित यो पर्व मिथिलाको विशिष्ट पर्व हो । चन्द्रमा जीवनका हरेक क्षेत्रमा व्याप्त रहेका कारण मैथिली समाजले चन्द्रमालाई देउताका रूपमा श्रद्धापूर्वक पूजा गर्दै आएको पाइन्छ । ज्योतिष शास्त्रमा चन्द्र मण्डललाई जलवृष्टिको आधार मानिएको छ । यही विश्वासले मैथिल समाज कुनै पनि शुभकार्य गर्दा चन्द्रमाको स्थितिलाई अनिवार्य रूपले विचार गर्ने चलन रहेको छ ।

मैथिल समाजको भाव, कल्पना र विचारमा चन्द्रमाको व्यापकत्व रहेका कारण मैथिल समाजले धार्मिक अनुष्ठानदेखि साहित्य, संगीत, चित्रकलालगायतका विभिन्न क्षेत्रमा चन्द्रमालाई चन्द्रदेव भनी आराधना गर्दै आएको देखिन्छ । चन्द्रमालाई मनको देउता पनि भनिन्छ । ऋग्बेदमा धनको प्राप्ति एवं सुस्वास्थ्यका लागि चन्द्रमाको यत्रतत्र प्रार्थना गरिएको पाइन्छ । चन्द्रमाको उपासनाले कफ रोग निको हुने, वीर्य दोषबाट निवृत्ति र चञ्चल मन एकाग्र हुने धारणा पाइन्छ ।

शारीरिक क्रान्तिका लागि पनि चन्द्रमाको पूजा गर्ने मान्यता रहेको छ । योग शास्त्रअनुसार चन्द्रबिम्बमा ध्यानले विश्वको समस्त घटनाको ज्ञान साधकले सहजताले प्राप्त हुन्छ । भदौ चतुर्थी तिथिका दिन मनाइने यो पर्वलाई ‘चौठचन्द्र’ पनि भनिन्छ । संस्कृत भाषाको चतुर्थी ध्वन्यात्मक भेद्ले गर्दा चौठी वा चौठ हुन गएको हो । लोक धारणाअनुसार भदौ शुक्ल चतुर्थीको दिन उदाउने चन्द्रमा चोर हुन्छ भनिन्छ । यस दिनको चन्द्रमाको दर्शन खाली हात गर्नु हुँदैन, यसो गरेमा दोष लाग्दछ ।’ हातमा कुनै फल वा नैवेद्य लिई यस दिनको चन्द्रमाको दर्शन गरेमा दोष नलाग्ने मान्यतासमेत रहेको छ ।

यो पर्वको प्रारम्भ मिथिला नरेश हेमाङग ठाकुरद्वारा भएको मानिन्छ । उनी ज्योतिष शास्त्र भएकाले चन्द्रमाको पूजाको परम्परा प्रारम्भ गरेको विश्वास पाइन्छ । साँझ खिरपुरी, माटोको भाँडोमा दही र केरा सहित विभिन्न फलफुहरु सहित घरको आँगनमा विशेष लिपपोत गरि पुजापाठ गरिन्छ र स–परिवार प्रसादका रुपमा ग्रहण गर्ने गर्दछ ।

Registration Open for Mr. & Miss Tharu 2020
तराईसबै