सप्तरी : राहत वितरणमा अनियमितता भएको भन्दै वडा कार्यालयमा तालाबन्दी
राहत वितरणमा अनियमितता र पक्षपात भएको भन्दै सप्तरीको कञ्चनरुप नगरपालिका ९ को कार्यालयमा वडावासीले तालाबन्दी गरेका छन् । गरिबले पाउने राहत धनीले पाएको र पक्षपात गरेको भन्दै स्थानीयवासीले वडा कार्यालय र राहत राखिएको कोठामा तालाबन्दी गरेका हुन् । विपन्न परिवारलाई समेटेर राहत नदिएसम्म तालाबन्दी नखोलिने उनीहरुको माग छ।
विश्वव्यापी महामारी कोरोना संक्रमण (कोभिड-१९) रोकथाम र नियन्त्रणमा लागि सरकारले गत चैत ११ गतेदेखि देशव्यापी लकडाउन गरेपछि गरिब, विपन्नलाई राहत वितरण गर्न नगरपालिकाले सो वडालाई ५ लाख रकम पठाएको छ ।
सर्वदलीय समितिको बैठकको निर्णयअनुसार वडाको पाँच सय गरिब, विपन्नलाई राहत वितरण गर्नुपर्नेमा सोमबारसम्म ४ सय ७५ घरधुरीलाई राहत वितरण गरिसकेको वडा अध्यक्ष लक्ष्मण यादवले जनाए । गरिब, विपन्नका लागि आएको राहतमा सबैले दावी गरेको र सरकारले पठाएको पैसामा सबैलाई भाग लगाउनुपर्ने भनेर विवाद गर्दै तालाबन्दी गरेको उनले बताए ।
उता स्थानीय भोला यादवले दैनिक ज्यालादारी गर्ने तथा विपन्न परिवारलाई राहत वितरण गर्ने भनिए पनि पक्षपातपूर्ण व्यवहार गरेर राजनीतिक दलका प्रतिनिधिले आफन्त र आसेपासेलाई दोहोरो, तेहोरो राहत वितरण गरेकाले तालाबन्दी भएको बताए । छाक टार्न समस्या भएका अपाङ्गता र विपन्न दलित समुदायले राहत नपाएको उनको गुनासो छ ।
सर्वदलीय समितिको निर्णय बमोजिम नै राहत वितरण थालिएको जनाउँदै वडा अध्यक्ष यादवले धेरै राहत पाउन अलग-अलग परिवार बनेर राहत माग्ने एउटै परिवारका सदस्यलाई राहत दिन असमर्थता जनाए पछि तालाबन्दी भएको बताए ।
‘हिजोसम्म एउटै परिवारमा खान्थे, राहत पाउन चुल्हो अलग छ भन्छन्, वडा अध्यक्ष यादवले भने, ‘भोलि नै पुनः सर्वदलीय प्रतिनिधिको बैठक बसेर समस्या समाधान गरिनेछ ।’ सबै वडाबाट ठूलो सङ्ख्यामा राहत पाउनेको नाम आएपछि कञ्चनरुप नगरपालिकाले राहत वितरणका लागि प्रदेश २ सरकारले पठाएको १५ लाखमा आफ्नो ४३ लाख एक हजार थपेर राहत कोषमा ५८ लाख एक हजार रकम जम्मा गरेको छ ।
राहत पाउनै पर्ने व्यक्ति छुटेको भएमा त्यस्तालाई समावेश गरेर राहत दिइने विषयमा नगरपालिका स्पष्ट रहेको जनाउँदै नगर प्रमुख बसन्त मिश्रले धनी र एकै परिवारका मानिसलाई राहतमा लोभ नगर्न अनुरोध गरे ।
जारी लकडाउनबाट समस्यामा परेकालाई जोखिमबाट जोगाउन कञ्चनरुप नगरपालिकाको अन्य सबै वडामा पहिलो चरणको राहत वितरण भइसकेको नगर प्रमुख मिश्रले बताए । सप्तरीको महदेवा गाउँपालिका वडा नम्बर-४ मा काखापाखा गरेको भन्दै स्थानीयवासिन्दाले व्यापक विरोध जनाएपछि राहत वितरण स्थगित भएको छ ।
बलियास्थित वडा कार्यालयमा भेला भएका स्थानीयवासीले राजनीतिक आस्थाका आधारमा विभेद गरिएको तथा अति गरिब एवम् विपन्न परिवार छुटाएको भन्दै नाराबाजी गरेपछि राहत वितरण स्थागित भएको हो ।
अति विपन्नको नाम समावेश हुनुपर्ने, मापदण्ड अनुसारको राहत वितरण हुनुपर्ने उनीहरुको माग छ । वडा अध्ययक्ष जुगेश्वर साहले राहत वितरणमा कसैलाई काखापाखा नगरिएको दावी गरे । वडामा कुल १ हजार २ सय घरधुरी रहेकोमा पाँच सय ८० परिवारको नामावली संकलन गरेर सोही अनुसार वितरण गर्ने क्रममा स्थानीय केही व्यक्तिहरुले अवरोध पुर्याएको उनले बताए ।
छुटेका केही व्यक्तिलाई पछि राहत दिने प्रतिवद्धता जनाए पनि सबैलाई राहत दिन माग गरेकोले राहत वितरण स्थगन गरी गाउँपालिका अध्यक्ष दिपककुमार यादवलाई जानकारी गराएको उनले बताए । Source: annapurnapost
-
नवौं खिचरा महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु आउने
८ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४