add post
  • Terai Nepal
  • २०७७ बैशाख १६ गते, मंगलवार २०:५४ मा प्रकाशित

कोरोना चमेराले सारेको होइन, दानवीकरण बन्द गरौँ : वैज्ञानिकहरू

कोभिड-१९ फैलिनुका कारण चमेरो भएको कारण बताउने अपुष्ट समाचार तथा सामाजिक सञ्जालका पोस्टपछि चमेरो बस्ने स्थान जलाउन, भत्काउन वा धूँवा छोडिएका घटना बाहिर आएका छन्।

यसविरुद्ध जनचेतना जगाउन दक्षिण एसियाका ६४ जना संरक्षणविद् तथा चमेरोविज्ञले चमेरोका कारण कोभिड-१९ नफैलिएको जनाउँदै यसको खण्डन गरेका छन्।

चमेरोका कोरोनाभाइरस (बिटीकोभ) दुई प्रजातिका भारतीय चमेरामा मात्र पाइने केही अघिको भारतीय मेडिकल काउन्सिल परिषद्को अध्ययनले देखाएको छ। यो भाइसर सार्स-कोभ-२ भन्दा फरक भएको र यसले कोभिड-१९ नफैलिएको उनीहरूले दाबी गरेका छन्।

यसै पनि मानवीय गतिविधिले जङ्गली जीवजन्तुलाई असर पुग्दै गर्दा चमेरोको पनि बासस्थान सङ्कटमा भएको र यससँगै मानवीय गतिविधिले गर्दा नयाँ-नयाँ सङ्क्रमणकारी भाइरस आउन थालेको क्यानाडाको मक्मास्टर विश्वविद्यालयका पोस्ट-डक्टरल अनुसन्धानकर्ता अरिन्जय बेनर्जी बताउँछन्। उनी चमेरो भाइरस अध्ययन गर्छन् र कोभिड-१९ भाइरसलाई अध्ययनका लागि अलग्ग पार्ने टोलीमा उनी पनि सहभागी थिए।

हालसम्म सार्स-कोभ-२ को उत्पत्ति कहाँबाट भयो भन्ने अज्ञात नै छ र यसका लागि चमेरो वा अन्य कुनै जनावरलाई दोष दिइनु गलत भएको उनी बताँछन्।

बंगलोरको इन्डियन इन्स्टिच्युट अफ साइन्सअन्तर्गत वातावरण विज्ञान केन्द्रका प्राज्ञ हरीश प्रकाशका अनुसार झन् यसरी चमेरो बस्ने ठाउँ बिगार्दा उनीहरू अन्यत्र फैलने र सबै जनावरमा झैँ उनीहरूमा पनि हुने भाइरस फैलने खतरा हुन्छ। सबै जीवजन्तुमा कुनै न कुनै भाइरस हुनाले यसरी चमेरोलाई मात्र दोष दिनु गलत भएको उनी थप्छन्।

अन्य जीवझैँ चमेरो पनि पारिस्थितिक प्रणाली सन्तुलित राख्दका लागि आवश्यक हुने तथा अप्रत्यक्ष रूपले आर्थिक महत्त्व हुनाले यसको संरक्षणका लागि वैज्ञानिक तथा संरक्षणविद्हरूले सबै दक्षिण एसियाली राष्ट्रका सरकारलाई आह्वान गरेका छन्।

भारतमा चमेरोका दुई प्रजाति कानूनी संरक्षणमा छ। यसलाई विस्तार गर्न र हालको व्यवस्थालाई पुनर्विचार गरी कार्यान्वयन गर्न संरक्षणविद्हरूले माग गरेको छन्। Source:nepalnews