add post
  • Terai Nepal
  • २०७७ श्रावण २० गते, मंगलवार १०:४२ मा प्रकाशित

कोशी अस्पतालमा कोरोनाको आशंका गरिएका पुरुषको मृत्यु

विराटनगर : कोरोना भाइरसको संक्रमण आशंका गरिएका एक पुरुषको विराटनगरस्थित कोशी अस्पतालमा मृत्यु भएको छ । उदयपुरको बेलका नगरपालिका–१ का ५५ वर्षीय वेदप्रसाद न्यौपानेको मंगलबार बिहान मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनदाल दासले बताए ।

न्यौपानेलाई बेलकाबाट उपचारका लागि सोमबार राति विराटनगर ल्याइएको थियो । मोरङ बूढीगंगा गाउँपालिकामा रहेको विराट टिचिङ अस्पतालमा भर्ना गर्न खोजिए पनि अस्पतालले पीसीआर परीक्षणको रिपोर्ट नभएको भन्दै भर्ना लिन नमानेको बताइएको छ ।

विराट पु¥याउँदा उनलाई १०४ डिग्री ज्वरो पनि थियो । त्यसपछि कोशी अस्पताल ल्याइएका उनको बिहान लगभग १ बजेतिर मृत्यु भएको डा.दासले बताए । न्यौपानेमा केही दिनअघि जण्डिसको समस्या देखिएको जानकारी परिवारका सदस्यले अस्पताललाई गराएका छन् ।

कोशीमा ल्याइएपछि उपचारका लागि आइसोलेसनमा भर्ना गर्ने तयारी हुँदै गर्दा न्यौपानेको मृत्यु भएको उनले बताए । ‘ज्वरो देखिएपछि कोरोनाको आशंकामा आइसोलेसनमा भर्ना गरेर उपचारको प्रक्रिया अघि बढाउने तयारी हुँदै थियो,’ डा. दासले भने, ‘तर भर्ना गर्न नपाइकन अस्पताल ल्याएको १५ मिनेटभित्रै पुरुषको मृत्यु भयो ।’

यसअघि जण्डिस देखिएको बताइए पनि पुरुषमा ज्वरो आउने, रिंगाटा चल्ने, वाकवाकी लाग्ने, श्वास फेर्न गाह्रो हुने लगायतका समस्या रहेका कारण कोरोनाको संक्रमण भएको हुन सक्ने आशंका गरिएको जानकारी उनले दिए । उनकाअनुुसार मृतक पुरुषको कुनै ‘ट्राभल हिस्ट्री’ भने देखिएको छैन ।

मृतकको स्वाब संकलनको प्रक्रिया अघि बढाइएको बताउँदै दासले स्वाबको पीसीआर परीक्षण गरेर रिपोर्ट आइसकेपछि मात्रै ती पुरुषमा कोरोना भए/नभएको पुुष्टि हुने जानकारी दिए । पीसीआर परीक्षण रिपोर्ट आइसकेपछि सबै पक्षसँग समन्वय गरेर शव व्यवस्थापनको प्रक्रिया अघि बढाइने उनले बताए ।

सोमबार दिउँसो कोशी अस्पतालमै विराटनगर–५ घर भएका ७७ वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । वृद्धको शव व्यवस्थापनका लागि नेपाली सेनाको शव व्यवस्थापन टोलीलाई जिम्मा लगाउने तयारी भइरहेको डा. दासले बताए । Source: annapurnapost