बाँकेका कोरोना सङ्क्रमितको यात्रा विवरण खोजिँदै
बाँके – बाँकेमा फेला परेका कोभिड –१९ सङ्क्रमितको अझै पनि यात्रा विवरण (ट्राभल हिस्ट्री) खुल्न सकेको छैन । भ्रमण विवरण खुल्न नसक्दा कोरोना सङ्क्रमणको सुरुको अवस्था पत्ता लगाउन कठिन भएको छ ।
कोरोना भाइरस सङ्क्रमणको क्षेत्र नेपालगञ्ज उपमहानगरपालिका ८ जोल्हनपूर्वामा पहिलो पटक गएको शुक्रबार एक ६० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पोजेटिभ फेला परेको थियो । त्यसपपछि उनी बसोबास तथा आवत जावत गर्ने क्षेत्र बन्द गरेर स्थानीयवासीको स्वाब परीक्षण गर्दा सात वर्षीय बालक तथा नौ वर्षकी बालिकासहित २२ जनामा पोजेटिभ देखिएको हो ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले ती पुरुषलाई पनि अरुबाट कोरोना सरेको हुन सक्ने बताउनुभयो । सङ्क्रमितको ट्राभल हिस्ट्री पत्ता लगाउन नसकिएकाले सङ्क्रमण कहाँदेखि फैलियो भन्ने थाहा पाउन गाह्रो भएको छ । पहिलो सङ्क्रमित ६० वर्षीय पुरुष भारतको रुपैडिहा, नानपारालगायत ठाउँमा आवात जावात गरेको देखिए पनि टाढाको ‘ट्राभल हिस्ट्री’ नदेखिएकाले ती पुरुषलाई नै यकिनसाथ पहिलो केस भन्न नमिल्ने उहाँले बताउनुभयो ।
नेपालगञ्जमा पहिलो पटक फेला परेका सङ्क्रमित ६० वर्षीय पुरुषको सम्पर्कमा आएका जोल्हनपूर्वा वरिपरिका बासिन्दा भएको बताइएको छ । पहिलो सङ्क्रमितले जोल्हनपूर्वामा रहेको मदरसामा बालबालिकालाई पढाउने क्रममा सम्पर्क भएको हुन सक्ने अनुमान छ ।
स्वास्थ्यकर्मीले सङ्क्रमितलाई पछ्याउँदै परीक्षण तीव्र बनाइरहेका छन् । यो सङ्ख्या अझै बढ्ने आँकलन गरेर स्थानीय प्रशासनले नेपालगञ्जमा निषेधाज्ञा घोषणा गर्दै सुरक्षा व्यवस्था निकै कडा बनाएको छ ।
कोरोना कहाँबाट र कसरी सुरु भएको भन्ने अहिलेसम्म पत्ता लाग्न नसकेको फोकल पर्सन श्रेष्ठ बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘हामीले पहिलो केस नै पत्ता लगाउन सकिरहेका छैनौंँ, कोरोना सङ्क्रमण को ‘ट्राभल हिस्ट्री’ खोजिरहेका छौंँ । पहिलो सङ्क्रमित व्यक्ति नै हो वा अरु कसैबाट उनीमा सरेको भन्नेबारे पत्ता लागिसकेको छैन ।’
भारतको सीमा क्षेत्र बहराइचबाट झण्डै एक महिनाअघि नेपाल फर्किएका उनलाई क्वरेण्टीनमा राखिएको थियो । महेन्द्र बहुमुखी क्याम्पसको क्वरेण्टीनबाट झण्डै ६ सय जना भागेका थिए । यी संक्रमित पनि भाग्नेमध्ये भएको प्रहरीले बताएको छ । यसबाट उनी थुप्रै व्यक्तिको सम्पर्कमा पुगेको र पछिल्ला २२ नयाँ सङ्क्रमित पहिले फेला परेका व्यक्तिको संसर्गबाट भएको बुझिएको छ ।
उनी आफ्नो निवास रहेको जोल्हनपूर्वाबाट दैनिक तीन चार पटक नमाजको अजान गर्न महेन्द्र पार्कको धार्मिकस्थलमा पनि आउजाउ गर्थे । उनी मदरसाका शिक्षक भएकाले उनको सम्पर्कमा आएका व्यक्तिको खोजी गरेर थप स्वाब सङ्कलन र परीक्षण भइरहेको श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘यताको सम्बन्ध उता र उताको सम्बन्ध यता भएकामा सङ्क्रमित भेटिएको भए पनि उनीहरु धेरै टाढा गएको देखिँदैन । फेला परेका सङ्क्रमितमध्ये यो बीचमा रुपैडिहा वा नानपारा नगएको कोही पनि छैन ।’
स्वास्थ्य कार्यालयका फोकल पर्सन श्रेष्ठका अनुसार अहिलेसम्म पहिलो सङ्क्रमितको ‘ट्राभल हिस्ट्री’ नै फेला परेको छैन भने अन्य सङ्क्रमितको खोज्ने काम भइरहेको छ । उहाँका अनुसार सङ्क्रमित रहेका क्षेत्रमा ‘कन्ट्याक्ट ट्रेसिङ’ को काम भइरहेको र यो सकेपछि थ्रोड स्वाब लिएर परीक्षणलाई तीव्रता दिइने छ । सङ्क्रमित भेटिएको स्थानलाई पूर्णरुपमा बन्द गरेरै ‘कन्ट्याक्ट ट्रेसिङ’ गरिरहेको पनि उहाँले जानकारी दिनुभयो । Source: ujyaaloonline
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४