add post
  • Terai Nepal
  • २०७७ बैशाख १६ गते, मंगलवार १३:३९ मा प्रकाशित

प्रदेश १ मा कोरोना संक्रमितको मृत्यु भए शव व्यवस्थापनका लागि टोली तयार

विराटनगर – कोरोनाभाइरस कोभिड १९ संक्रमितको मृत्यु हुन गएको खण्डमा अन्त्येष्टि गर्न मोरङमा शव व्यवस्थापन टोली तयार गरिएको छ।

हालसम्ममा नेपालमा भाइरसका कारण कसैको मृत्यु भएको छैन। तर प्रदेश १ मा संक्रमित संख्या बढ्दै गइरहेका बेला जिल्ला प्रहरी कार्यालय मोरङले भने शव व्यवस्थापन टोली तयारी गरेको हो।

कोरोनाले कसैको मृत्यु भइहालेमा शव कसरी व्यवस्थापन गर्ने भन्ने कुरा चुनौतीपूर्ण बनिरहेका बेला जिल्लाका प्रहरी निरीक्षक मिलन थापाको नेतृत्वमा १० जनाको टोली तयार गरिएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरिक्षक विश्व अधिकारीले जानकारी दिए।

अधिकारीले भने ‘जिल्लाको कोभिड १९ उपचार केन्द्रमा ३१ जना उपचारमा रहेका छन्। उनीहरुमा गम्भीर अवस्था देखिएको छैन। जुन राम्रो पक्ष हो। त्यसैगरि, नेपालमा कोही कसैको मृत्यु भए पनि भएको छैन। तर, कसैको मृत्यु भइहालेको अवस्थामा शव व्यवस्थापन गर्न विशेष तालिम दिएर टोली तयार गरिएको छ।’

कसैको मृत्यु भए पीपीई लगाएर दाहसंस्कार गर्ने, शव घाटसम्म पु¥याउने, अन्त्येष्टि गर्ने, लगायत शव व्यवस्थापनका क्रममा अपनाउनु पर्ने सुरक्षा सावधानीका बारेमा आवश्यक तालिम र प्रशिक्षण दिएर टोली तयार गरिएको उनको भनाई छ।

टोली स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको शव व्यवस्थापन कार्यविधि २०७६ अनुसार तयार गरिएको हो।

कोरोनाबाट मृत्यु भएका व्यक्तिको अन्त्येष्टि अरु मृतकको जस्तो सहज नहुने बताइन्छ। कोरोना सहजै सर्ने भाइरस भएकाले संक्रमितको नजिक पुग्दा सर्ने जोखिम उच्च रहन्छ । प्रदेश एकको कोभिड उपचार केन्द्रमा हालसम्म ३१ जना संक्रमित उपचारका क्रममा छन्। केन्द्रमा १० बेड भेन्टिलेटरसहित ५० बेडको ब्यवस्था रहेको छ।

शव व्यवस्थापन कार्यविधि अनुसार कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव वहानमा राखेर जति सक्दो चाँडो घाटमा पु¥याउनु पर्छ। शव उठाउनु भन्दा अघि सवारी चालक र चालकले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) अनिवार्य लगाउनु पर्छ।

दाहसंस्कारमा सहभागी हुनै पर्ने आफन्त एवं नातेदारले अनिवार्य रुपमा पञ्जा, चस्मा, टोपी, मास्क र पीपीई लगाउनु पर्ने कार्यविधिमा उल्लेख छ । Source: deshsanchar