add post
  • Terai Nepal
  • २०७७ बैशाख १३ गते, शनिबार २०:५८ मा प्रकाशित

लकडाउन खुल्ने पनि शैक्षिक संस्थाहरु सञ्चालन गर्न नसकिने : शिक्षामन्त्री

वैशाख १३, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले लकडाउन खुले पनि त्यस लगत्तै शैक्षिक संस्थाहरु सञ्चालन गर्न नसकिने बताएका छन् ।

विद्यार्थीहरुको संख्या धेरै हुँदा कक्षा कोठामा सामाजिक दुरी कायम गर्न मुस्किल हुने भएकाले शैक्षिक संस्थाहरु लकडाउनपछि सबैभन्दा अन्तिममा सञ्चालन गरिने उनको भनाइ छ ।

शिक्षा पत्रकार समहूले कोरोना भाइरस र शिक्षा क्षेत्रको व्यवस्थापन सम्बन्धी शनिबार आयोजना गरेको भर्चअल प्रेसमिटमा मन्त्री पोखरेलले देशभर २५० विद्यालय र क्याम्पसलाई क्वारेन्टाइन बनाइएकाले पनि तत्काल त्यहाँ कक्षा सञ्चालन गर्न सम्भव नहुने बताए ।

‘जेठसम्ममा नयाँ शैक्षिकसत्र सुरु गर्न सके शैक्षिक सत्र भत्किदैन । परीक्षाहरु पनि सञ्चालन हुनसक्छन्,’ उनले भने ।
जाडो-गर्मी विदा, चाडपर्वका विदा कटाएर साथै, अतिरिक्त कक्षालाई बढाएर पनि शैक्षिक सत्र भत्किन नदिने मन्त्री पोखरेलको भनाइ छ ।

मन्त्री पोखरेलले लकडाउनको आगामी स्वरुप हेरेर मन्त्रालयले शैक्षिक कार्यक्रम र योजना तय गर्ने बताएका छन् ।

शिक्षा मन्त्रालयले गठन गरेको विज्ञ समितिले भोलि आइतवारसम्ममा सुझाब प्रतिवेदन बुझाउँदै छ ।

आइतवारै मन्त्रिपरिषद्ले १५ वैशाखमा सकिने लकडाउनबारे निर्णय गर्ने र त्यसकैका आधारमा योजना बनाइने मन्त्री पोखरेलले बताए ।

लकडाउन खुलेपछि मात्रै शैक्षिक सत्र सुरु गर्न अनेरास्ववियूको सुझाव

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूले पनि नयाँ शैक्षिक सत्र लकडाउन खुलेपछि मात्रै सुरु गर्न सुझाव दिएको छ

अध्यक्ष ऐन महरको नेतृत्वमा गएको टोलीले शिक्षामन्त्री गिरिराजमणी पोखरेलाई भेटेर विश्वविद्यालयका स्थगित परीक्षा पनि लकडाउन खोलिए लगत्तै लिनुपर्ने सुझाव दिएको हो ।

महरका अनुसार कक्षा ११ को परीक्षा लकडाउन खुलेपछि होम सेन्टरमै लिन स्वतः ग्रेडिङ गर्न सकिने सुझाव मन्त्रीलाई दिइएको छ । कक्षा १२ को भने अनिवार्य परीक्षा गरिनुपर्ने अनेरास्ववियूले माग गरेको छ ।

अखिलले सबैको पहुँचमा पुग्ने गरी शिक्षण संस्थाहरुमा अनलाइन कक्षा सञ्चालन सञ्चालन गर्नु पर्ने भन्दै त्यसका लागि नेपाल टेलिकमसँग समन्वय गरी डाटा र भ्वाइस कल निःशुल्क व्यवस्था हुनुपर्ने जनाएको छ ।