add post
  • Terai Nepal
  • २०७६ चैत्र २४ गते, सोमबार १९:३८ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार देशबासीका नाममा सम्बोधन गर्दै, केही नयाँ घोषणा हुन सक्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार बिहान देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

कोभिड १९ रोकथाम र नियन्त्रणका लागि सरकारले चालेका कदम र आगामी रणनीतिका बारेमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने बालुवाटारनिकट स्रोतले बताएको छ ।

सोमवार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्ने अवगत गराएका थिए ।

केही दिनयता प्रधानमन्त्री चुप बसेको भन्दै सामाजिक सञ्जाललगायत सञ्चारमाध्यममार्फत आलोचना भइरहेको थियो ।

यससँगै सरकारमाथि स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भ्रष्टाचार भएको आरोपसमेत लाग्ने गरेको छ ।

सोमवार बसेको मन्त्रिपरिषदको बैठकले लक-डाउन थप १ साता लम्ब्याउने निर्णय गरेको छ । लक-डाउन लम्बिएसँगै दैनिक ज्यालादारी, विपन्न नागरिकमाथि थप चुनौती आइपरेको छ ।

सरकारले स्थानीय निकायमार्फत राहत वितरण गर्ने निर्णय गरेको भएपनि त्यो सैद्धान्तिक मात्र रहेको र व्यवहारमा टाठाबाठाहरूले नै राहत कब्जा गरेका समाचारहरू दिनदिनै सुन्न, पढ्न र हेर्नमा आएको छ ।

बालुवाटार स्रोतले बताएअनुसार प्रधानमन्त्रीको सम्बोधनमा अहिलेसम्म सरकारले चालेका कदमहरू, सरकार र जनताले भोग्नुपरेका व्यावहारिक कठिनाइहरू र तिनको निदान लगायत थप केही नयाँ घोषणा आउन सक्नेछ ।