add post
  • तराई नेपाल
  • २०७७ आश्विन १० गते, शनिबार १९:३३ मा प्रकाशित

होम आइसोलेशनमा बसेका संक्रमितलाई वडाध्यक्षद्वारा दुव्र्यवहार

तस्विर : होम आइसोलेट

कल्याणपुर। सप्तरीको खडक नगरपालिका– ८ स्थित संक्रमित पत्रकारको घरमा साइरन बजाउँदै २ एम्बुलेन्स र १ प्रहरी भ्यान गएर विहान टक्क रोकियो ।

खडक नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष इसराइल मियाँ र इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीका प्रहरी निरीक्षक धर्मराज मुडभरीसहितको टोली विहान ११ बजे संक्रमित पत्रकारको घर पुगे । तीन वटा कोठाको अलग÷अलग ओछ्यानमा ६ जना आइसोलेट भई बसेका थिए । राजविराजबाट प्रकाशित हुने एक दैनिक पत्रिकाका सम्पादक चार दिन अघि र उनकै पत्रिकाका सहसम्पादकसहित परिवारका सदस्यहरुमा तीन दिन अघि कारोना पोजिटिभ पुष्टि भएपछि उहाँहरु सिङ्गो घर आइसोलेट गरी बस्न थाल्नु भएको हो ।
यसबारे जिल्ला प्रशासन कार्यालय सप्तरी र जिल्ला स्वास्थ्य कार्यालय सप्तरीमा समेत जानकारी गराइएको पत्रकारकी दिदीले बताउनु भयो ।
कतिपय स्थानहरुमा होम आइसोलेसनमा बसेका संक्रमितको घरमै गएर जनप्रतिनिधीले भेटेर हौसला दिने अभियान चलाएका छन् ।

प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेद औषधि र स्वास्थ्य सावधानीका उपायको जानकारीसहितको स्वास्थ्य लाभको पत्र बोकेर जनप्रतिनिधीको टोली संक्रमितहरुको घरमै पुगेर भेट्ने काम पनि भइरहेको छ ।
तर सप्तरीको खडक नगरपालिका–८ स्थित पत्रकारको घरमा अचानक एम्बुलेन्स, प्रहरी, सेनासहित पुगेका वडा अध्यक्ष इसराइल मियाँले होम आइसोलेशनमा बस्न पाइदैन भन्दै दुव्र्यवहार गर्नुभयो ।
संक्रमित पत्रकारका अनुसार वडा अध्यक्षले राजविराजस्थित आइसोलेशन केन्द्र वा खडक नगरपालिकाकै स्वास्थ्य चौकीमा आइसोलेट भएर बस्न निकै दवाव दिनुभयो ।
बाहिरी मानिसहरुलाई प्रवेश निषेध गरी सिङ्गो घर नै आइसोलेट गरी सरकारी मापदण्डअनुसार नै होम आइसोलेशनमा बसेकाले अन्तको आइसोलेशनमा जानु नपर्ने संक्रमित पत्रकारले अडान राख्नुभयो ।
पत्रकारकी दिदीले पनि व्यवस्थित गरेर सिङ्गो घर नै आइसोलेशन बनाएर राखेकाले अन्त लैजाने दवाव नदिनु भनेर वडा अध्यक्षलाई आग्रह गर्नुभयो ।
त्यसपछि वडा अध्यक्ष झन ठूलो स्वरमा चर्कदै वडाका अन्य संक्रमितहरुलाई यसअघि संस्थागत आइसोलेसनमा पठाएकाले घरमा बस्न नपाइने भनेर झगडा गर्न थालेको संक्रमितहरुले बताए ।
गाउँका अन्य मानिसलाई भड्काउने प्रयास गर्दै वडा अध्यक्षको आवाज चर्कियो–“होम आइसोलेशनको साटो संस्थागत आइसोलेशनमा गएर बसे छिमेकीहरुमा संक्रमण फैलिने जोखिम हुँदैन थियो ।”
वडा अध्यक्ष इसराइल मियाँले समुदायमा कोरोना संक्रमण नफैलियोस् भनेर राजविराज वा खडक नगरपालिकाले निर्णय गरेको आइसोलेशन केन्द्रमा राख्न खोजेको बताउनु भयो ।
उहाँले संक्रमण फैलिएमा सबैले आफैलाई दोष दिने भएकाले सावधानी अपनाउन यसो गर्नु परेको बताउनु भयो ।
खडक नगरपालिकाले २५ बेडको आइसोलेशन बनाउने निर्णय गरे पनि हालसम्म सञ्चालनमा आएको छैन् र यसअघि संक्रमित हुनेहरुलाई अन्य स्थानीय तह झै राजविराजको आइसोलेशन केन्द्रमा पठाउने गरिएको छ ।
राजविराज पछि पछिल्लो पटक तिलाठी कोइलाडी गाउँपालिका र कञ्चनरुप नगरपालिकामा भने आफ्नै आइसोलेशन केन्द्र सञ्चालनमा छ ।
स्वास्थ्य कार्यालय सप्तरीका अनुसार राजविराजस्थित आइसोलेशन केन्द्रमा ५३ जना, तिलाठी कोइलाडीस्थित आइसोलेशन केन्द्रमा ९ जना र कञ्चनरुपस्थित आइसोलेशन केन्द्रमा ६ जना रहेका छन् ।
सप्तरीमा संक्रमित हुनेको सङ्ख्या १ हजार २४६ पुगेकोमा १४ जनाको मृत्यु भएको छ भने ९२८ जना निको भएका छन् । स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार बाँकी २३९ जना आफ्नै घरमा आइसोलेटेड भएर बसेका छन् ।
लक्षण नदेखिएका संक्रमितहरु सरकारले तोकेको मापदण्ड पूरा गरेर घरमै आइसोलेसनमा बस्न पाउने केन्द्रीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशिकामा व्यवस्था छ ।
निर्देशिका आउनु अगावैदेखि राजविराजका संक्रमितहरु होम आइसोलेशनमा बस्न थालेका थिए । गत असार ३१ गते मृत्यु भएका राजविराज–७ का ७३ वर्षीय व्यापारीका परिवार र साथी, न्यायाधीश, सरकारी वकिल, कर्मचारी, स्वास्थ्यकर्मी, व्यापारीहरु निर्देशिका अगावैदेखि होम आइसोलनेशमै बस्दै आएका छन् ।
तर निर्देशिका अनुसार बसेकालाई वडा अध्यक्षले घरबाट जानैपर्छ भनेर जोड दिएर धम्क्याउन थालेपछि दुख लागेको संक्रमितहरुले बताए । इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक धर्मराज मुडभरीले वडा अध्यक्षले बोलाए पछि सो ठाउँमा जानु परेको बताउनु भयो । उहाँले आफू उक्त ठाउँमा पुगेपछि मात्र कारण थाहा पाएकोले विवाद साम्य गरी फर्किएको बताउनु भयो ।
वडा अध्यक्षले शक्ति प्रदर्शन गर्दै तत्काल फोन गरेर नेपाली सेनालाई पनि बोलाएको उहाँले जानकारी दिनुभयो ।
घरमा आएर धम्क्याउँदै आधा घण्टासम्म विवाद गरेर वडा अध्यक्ष फर्किएको संक्रमितहरुले बताए । दुखसुखमा साथ दिनुपर्ने जनप्रतिनिधिको व्यवहारप्रति उनिहरुले दुख व्यक्त गरे । एक संक्रमितले भन्नभयोे–‘चार दिनदेखि होम आइसोलेशनमा बसिरहेकाहरुको हालखबर सोधपुछ गर्न नआउने वडा अध्यक्षले अचानक प्रहरी, सेनासहित आएर मानसिक तनाव दिए ।’

होम आइसोलेशनको अवस्था निरीक्षण गरेर फर्किएका स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख यादवले स्वास्थ्य सुरक्षा मापदण्डअनुसार नै होम आइसोलेशनमा छुट्टा–छुट्टै बसेकाले अन्त लैजानु पर्ने अवस्था नरहेको बताउनु भयो । उहाँले वडाअध्यक्षलाई संक्रमितहरुको मनोबल बढाउने काम गर्न र राजनीति पूर्वाग्रह राखेर काम नगर्न आग्रह समेत गरेको बताउनु भयो ।

‘कोरोना देखिएपछि स्वास्थ्यमा कुनै समस्या नभए पनि एक खालको तनाव हुँदो रहेछ, हौसला चाहिएको बेला जनप्रतिनिधीबाटै मनोबल गिराउने काम भयो ’संक्रमित पत्रकारले बताएका छन ।

तराईसबै