add post
  • Terai Nepal
  • २०७७ भाद्र १८ गते, बिहीबार १२:२६ मा प्रकाशित

भरतपुर कोभिड ल्याबको गम्भिर त्रुटी, ठाउँको नाम लेख्दा पटकपटक गल्ती

चितवन, भदौं १८–

भरतपुर अस्पतालको मातहतमा रहेको कोभिड १९ परीक्षण प्रयोगशालाले कोभिडको विवरण सार्वजनिक गर्दा स्थानीय तहको नाम नै गलत लेख्न थालेको छ । एकपटक मात्रै होइन ल्याब पटकपटक यस्तै गल्ती दोहोराइ रहेको छ ।

पूर्वींचितवनको खैरहनी नगरपालिकालाई ल्याबले पटकपटक खैरेनी भनेर लेख्ने गरेको छ । जबकी चितवनमा कुनै पनि खैरेनी भन्ने ठाउँ छैन । खैरहनी नगरपालिका चितवनका आदिवासी थारु समुदायको बाहुल क्षेत्र हो । यहाँका नगर प्रमुख पनि थारु समुदायका नै हुन् । थारु समुदायले नै नाम रोखेको खैरहनीलाई अहिले अपभ्रंस गर्न थालिएको छ ।

नाम गलत लेख्न थालेपछि थारु समुदायका युवाहरुले बिरोध जनाउन थालेका छन् । हरेक दिनजसो सार्वजनिक गर्ने कोरोना विवरणमा खैरहनीका संक्रमित भेटिदा नाम गल्ती उल्लेख भएको पाएपछि सामाजिक संजाल मार्फत विरोध सुरु गरिएको युवा जयस चौधरीले बताए । उनले भने–‘पटकपटक हुँदै नभएको ठाउँ भरतपुर अस्पतालले उल्लेख गर्दै आइरहेको छ, यो गम्भिर हो, यसलाई तुरुन्तै सच्याईयोस् ।’

भरतपुर अस्पतालको फेसबुक पेजबाट सार्वजनिक गरिने उक्त विवरण चितवनका बासिन्दा मात्र नभई देश विदेशमा रहेका सबै नेपालीहरुले हेर्छन् । नाम नै गलत लेख्दा धेरैले सोही गतल नाम नै उच्चारण र लेख्दै गएमा ठाउँको नाममै अपभ्रंस हुने संभावना उत्तिकै देखिन्छ ।

थारु समुदायले आफ्नो अस्तित्व माथिको अर्को आक्रमणको रुपमा यसलाई बुझ्न थालेका छन् । किनकी चितवनका अधिकांशका ठाउँका नाम थारु समुदायले नै राखेका हुन् । अहिले ती नामहरु अपभ्रंस गरी अर्को बनाईएपछि थारु समुदायले बिरोध जनाउँदै आइरहेका छन् । अहिले पनि त्यसैको सुरुवातको रुपमा खैरहनीको नाम गलत उल्लेख गर्न थालिएको थारु समुदायका युवाहरुको भनाइ छ ।

यता भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले स्वाब पठाउने ठाउँबाट नै सोही ठेगाना लेखेर आएका हुन सक्ने बताए । उनले प्रयोगशालाले पठाएको विवरण नै अस्पतालको पेजमा प्रकाशन गरिएको भन्दै सही ठेगानाका लागि प्रयोगशाला र स्वाब पठाउने ठाउँको समन्वय हुनुपर्ने बताए । उनले अबदेखि यस्तो समस्या नहुने समेत बताए । उनले भने–‘अब हरेकको विवरण मोबाइलमै जान्छ, त्यस्तो समस्या खासै नहोला ।’ यस विषयमा प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीसंग टेलिफोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

source: narayanionline

Registration Open for Mr. & Miss Tharu 2020
तराईसबै