add post
  • Terai Nepal
  • २०७७ भाद्र ७ गते, आईतवार ०९:५६ मा प्रकाशित

रैब (बड्का अटवारी) पर्व मनाउँदै थारु समुदाय

रोपाइँसँगै प्रकृति र कुलदेवतालाई परिकारहरु विधिवत रुपमा प्रसादको स्वरुपमा चढाउँदै आइतबार पूर्वका थारु समुदायले ‘रैब पर्व’ मनाउँदैछन् । पश्चिमका थारुहरुले भने यो पर्वलाई बड्का अटवारी भनेर मनाउने गर्छन् ।

तिथि अनुसार आइतबारलाई पूर्वीया थारु भाषामा ‘रैब दिन’ वा रैब पर्व भन्ने गरिन्छ । यस दिन घरमा दही, दूध, चिउरा, चिनी, जेरी, फलफुल आदि खाने गरिन्छ । थारु भाषामा आइतबारलाई रैब भन्ने गरेकोले यो पर्व रैब हुन गएको मानिन्छ।

आइतबारका दिन गर्नुपर्ने संस्कार अनुसार ग्रामथानका अगुवाको आज्ञाले यो पर्व मनाउने गरिएको थारु संस्कृतिविद भुलाइ चौधरी बताउँछन् ।

यस पर्वको दिन नुन, तेल खाए पर्व भंग हुने र कुलदेवता रिसाउने मान्यता रहिआएको छ। पर्वमा थारुहरुले बिहानै नजिकैको तलाऊ, पोखरी वा खोलामा स्नानगरी प्रकृति र कुलदेवतालाई परिकारहरु विधिवत चढाउँदै प्रसादको रुपमा खाने गर्दछन् । तर यो वर्ष कोरोना भाइरसको महामारीका कारण आफ्नै घरमा बसेर पर्व मनाईँदै छ ।

यसैगरी धार्मिक मान्यता अनुसार बाल–बच्चालाई सुस्वास्थ्यको कामना गर्नुको साथै कृषिजन्य उत्पादनमा बृद्धिको लागि समयमा वर्षा होस्, बाली–नालीमा रोग–व्याधी नलागोस् भन्ने कामना गर्दै यो पर्व मनाइने चलन रहँदै आएको छ ।

पश्चिमका थारुहरुले यो पर्वलाई बड्का अटवारी भनेर मनाउने गर्छन् । यो भदौ महिनाका हरेक आइतबार अगल–अलग गाउँहरुले आफ्नो अनुकुल पर्ने आइतबार रैब वा अटवारी मनाउने गर्छन् ।

source: deshsanchar

Registration Open for Mr. & Miss Tharu 2020
तराईसबै