add post
  • Terai Nepal
  • २०७७ जेष्ठ २९ गते, बिहीबार १८:३२ मा प्रकाशित

सप्तरीमा कोरोना संक्रमितको संख्या १ सय २१ पुग्यो

सप्तरीका १७ जना कोरोना संक्रमितहरु निको भएका छन् । पिसिआर परिक्षणमा लगातार दोश्रो पटक नेगेटिभ रिपोर्ट आएपछि बिहीबार उनीहरुलाई डिस्चार्ज गरिएको हो । यो सँगै जिल्लामा कोरोना निको भई डिस्चार्ज हुनेको संख्या २१ पुगेको छ ।
कोरोना संक्रमण भई राजविराजस्थित साईकृष्णा अस्पतालको आइसोलेशन केन्द्रमा रहेका उनीहरुलाई बिहीबार डिस्चार्ज गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
पछिल्लो पटक डिस्चार्ज हुनेहरुमा एक जना सुरक्षाकर्मीसहित बादेबसाईन नगरपालिकाका ८, राजविराज नगरपालिकाका ४, बलानबिहुल गाउँपालिकाका २ तथा खडक नगरपालिका र विष्णुपुर गाउँपालिकाका १÷१ जना गरि १७ जना रहेका छन् ।
यता बिहीबारै सप्तरीमा थप ९ जनामा कोरोना संक्रमण देखिएपछि सप्तरीमा कोरोना संक्रमितको संख्या १ सय २१ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
जिल्लामा हालसम्म भेटिएका १ सय २१ संक्रमित मध्ये हालसम्म २१ जना डिस्चार्ज भएपछि अब १ सय जना संक्रमित आइसोलेशनमा रहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार बिहीबार जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकाका ६ र बोदेबर्साइन नगरपालिकाका ३ गरि ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । नयाँ थपिएका सबै संक्रमितलाई साईकृष्णा अस्पतालको आइसोलेशनमा राखी उपचार व्यवस्था मिलाइएको छ ।