add post
  • Terai Nepal
  • २०७७ जेष्ठ २७ गते, मंगलवार १६:०५ मा प्रकाशित

एक जनामा कोरोना देखिएपछि भरतपुर-२२ मा कडाई, अत्यावश्यक बाहेकका सेवा बन्द

एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि भरतपुरको वडा नम्बर २२ ले अति आवश्यक बाहेकका सबै सेवाहरु बन्द गर्ने निर्णय गरेको छ ।

वडाध्यक्ष विष्णुराज महतोले सूचना जारी गर्दै दुग्धजन्य पदार्थ, स्वास्थ्य सेवा, औषधी पसल, भेटेरिनरी र पशु आहारका पसल बाहेकका सेवा तथा पसलहरु बन्द गर्ने जानकारी गराएका छन् ।

आज विहान बसेको विपद् व्यवस्थापन समितिले जेठ ३२ गते सम्म अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको भन्दै उनले धैर्यधारणगरी घरमै बसिदिन वडाबासीलाई आह्वान गरेका छन् ।

उक्त वडाको थारु कल्याणकारी सभा हलमा रहेको क्वारेन्टिनमा बसेका २८ वर्षका पुरुषमा हिजो कोरोना संक्रमण पुष्टि भएको थियो । ती व्यक्ति भारतको पटनाबाट आएका थिए । उक्त क्वारेन्टिनमा रहेका ७ जनाको पीसीआर परीक्षणका क्रममा १ जनामा संक्रमण पुष्टि भएको हो । यहाँको क्वारेन्टिनमा १२ जना छन् ।