add post
  • Terai Nepal
  • २०७७ जेष्ठ १८ गते, आईतवार १९:४४ मा प्रकाशित

सप्तरीमा कोरोना संक्रमितको संख्या ५४ पुग्यो

सप्तरीमा आज आइतबार १२ जना कोरोना संक्रमित थपिएपछि जिल्लामा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । योसँगै नेपालमा १ हजार ५ सय ६७ जना कोरोना संक्रमित पुगेका छन् ।

आइतबार थपिएका १२ जना कोरोना संक्रमितमा सबै जिल्लाको राजगढ गाउँपालिकाका रहेका छन् । उनीहरु भारतबाट ९ दिनअघि फर्केका पुरुष हुन् । हाल उनीहरुलाई सोही गाउँपालिकास्थित एक विद्यालयको क्वारेन्टाइन केन्द्रमा राखिएको छ ।
उनीहरुको स्वाब संकलन गरि परिक्षणका लागि तीन दिन अघि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् । आइसोलेशन बेडको अभावका कारण संक्रमित सबैलाई अहिले सोही गाउँपालिकाको क्वारेन्टाइन केन्द्रमा छुट्टै कोठामा राखिएको उनले बताए ।

गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले संक्रमितको संख्या बढ्दै गएपछि आइसोलेशन बेडको अभाव भएकाले लामो समयदेखी बन्द रहेको यहाँस्थित साई कृष्ण मेडिकल कलेजमा ५७ बेडको थप आइसोलेशन कक्ष निर्माण कार्य अन्तिम चरणमा पुगेको बताए । उनले संक्रमण पुष्टि भई क्वारेन्टाइनमै बसिरहेका संक्रमितहरुलाई आइतबारै रातीसम्म ल्याई आइसोलेशन कक्षमा राख्ने तयारी भइरहेको जानकारी दिएका छन् ।