add post
  • Terai Nepal
  • २०७७ बैशाख २४ गते, बुधबार २०:४३ मा प्रकाशित

सप्तरीको कृषि क्षेत्रका लागि प्रदेश सरकारद्वारा ३ करोड ७५ लाख अनुदान

राजबिराज, २४ बैशाख ।
कोरोना भाईरसको संक्रमणबाट जोगिन गरिएको लकडाउनका कारण कृषि क्षेत्रमा परेको असरलाई केही मात्रामा भएपनि न्युनिकरण गर्नका लागि प्रदेश २ सरकारले सप्तरीमा ३ करोड ७५ लाख रकम अनुदान दिने भएको छ । कृषि क्षेत्रमा प्रतिकुल प्रभावलाई न्युनिकरण गर्ने, राहत तथा अनुदान प्रवाहबाट कृषकहरूलाई संरक्षण गर्न राहत र पुनःस्थापनाका लागि प्रदेश नं. २ को भुमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालयले अनुदान दिने भएको हो ।जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादबको अध्यक्षतामा बुधबार राजविराजमा बसेको बैठकले जिल्लामा विशेष परिस्थितिले गर्दा गरिएको लकडाउनले कृषि क्षेत्रमा पारेको प्रतिकुल प्रभावलाई मध्यनजर गर्दै कृषकलाई राहत, ब्याजमा अनुदान, कृषिजन ढुवानीमा अनुदान दिने निर्णय गरेको छ ।बैठकमा प्रमुख प्रभाकर यादबले ब्यवसायिक रूपमा गरिएको खेतीमा भएको क्षतिको हकमा स्थानिय तहको सिफारिस तथा प्रहरी कार्यालयको मुचुल्का तथा क्षतिको प्रतिवेदन र क्षतिको आंकलनका आधारमा राहत प्रदान गरिने निर्णय भएको जानकारी दिएका छन् ।
मौसमी तरकारी, सामुहिक रूपमा क्षति भएको हकमा क्षति भएको ठाँउमा आगामी मौसमा मुख्य बाली र खेती तथा बस्तुका लागि लक्षित गरी कृषि ज्ञान केन्द्रमार्फत पाउने गरी कृषि बस्तुको उत्पादन सामग्री सिचाई तथा बाली कटानी लगायतमा अनुदान दिने उनले जनाए ।
प्रदेश भित्रका साना किसानहरूलाई मलखाध, बिउबिजन, भुरा, चल्ला, उत्पादन सामग्री, सिंचाई लगायतका प्रमुख उत्पादन सामग्री खर्च जुटाउन तथा उन्नत कृषि उत्पादन प्रबिधि प्रयोग गरेका ऋणीहरूलाई मन्त्रालयले ब्याज अनुदान वापतको रकम बैंक मार्फत भुक्तानी गर्ने ब्यबस्था मिलाउने गरि निर्देशन दिएको प्रमुख यादबले जानकारी दिए ।
यता राहतका लागि लक्षित ब्यक्ति र फर्मको हकमा प्राबिधिकको स्पष्ट प्रतिवेदन, स्थानिय तहको सिफारिस, प्रहरी मुचुल्का, प्रतिवेदन, नागरिकताको प्रतिलिपि, विमा गरेको हकमा सोको प्रमाणित लगायतका माग गरे बमोजिम आबश्यक कागजात पेशको आधारमा अनुदान उपलब्ध गराउने कृषि ज्ञान केन्द्र राजबिराजले जनाएको छ । Source: rajbirajdainik