add post
  • Terai Nepal
  • २०७७ बैशाख २४ गते, बुधबार १३:३७ मा प्रकाशित

लकडाउन जेठ ५ सम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि घोषित लकडाउन २५ वैशाखसम्म थियो ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउन बुधबार ४४ दिन पुगेको छ । लामो लकडाउनले अर्थतन्त्रमा ठूलो समस्या परेको भन्दै प्रभावित क्षेत्र छुट्याएर लकडाउन खुकुलो पार्नुपर्ने आवाज पनि उठिरहेको छ ।

मंगलबार बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकमा जोखिमका आधारमा ७७ जिल्लालाई रातो, पहेँलो र हरियो क्षेत्रमा विभाजन गर्ने र त्यसअनुसार लकडाउन कडा वा खुकुलो बनाउने प्रस्ताव पेश गरेको थियो ।तर प्रधानमन्त्री केपी शर्मा त्यसमा सहमत भएनन् ।

पछिल्लो समय कोरोना संक्रमितको स‌ंख्या बढेको र छिमेकी देश भारतले पनि मे १७ सम्मका लागि लकडाउन बढाएकाले सरकारले लकडाउन लम्ब्याएको हो ।

नेपालमा हालसम्म ८२ जनामा कोरोना भाइरसको स‌ंक्रमण पुष्टि भएको छ भने तीमध्ये २२ जना निको भएका छन् । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार प्रदेश एकमा ३१, प्रदेश २ मा १३, वाग्मतीमा ७, गण्डकीमा २, प्रदेश ५ मा २४ र सुदूरपश्चिम प्रदेशमा ५ जनामा कोरोना स‌ंक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशमा अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन ।