add post
  • Terai Nepal
  • २०७७ बैशाख १९ गते, शुक्रबार १७:२६ मा प्रकाशित

रोल्पा बम विस्फोटको स्थलगत अनुगमनमा मानवअधिकार आयोगको टोली

बिहीबार साँझ रोल्पामा बम विस्फोट हुँदा चारजना बालबालिकाको मृत्यु भएको घटनास्थलको अनुगमन गर्न राष्ट्रिय मानवअधिकार आयोगको टोली जाने भएको छ।

आयोगका सचिव वेद भट्टराईका अनुसार बम विस्फोटको घटना संवेदनशील भएकाले अनुगमन र निरीक्षणका लागि टोली खटाउने निर्णय भएको हो। लकडाउनको समयमा काठमाडौंबाट टोली जान समय लाग्ने भएकाले नजिकैको कार्यालयबाट टोली खटाउने निर्णय भएको भट्टराईको भनाइ छ।

टोलीमा मानवअधिकार आयोग, नेपाल बार एसोसिएसन नेपाल पत्रकार महासंघ, र एनजीओ फेडेरेसनका प्रतिनिधि संलग्न हुनेछन्। यो स्वतन्त्र टोलीले छिटोभन्दा छिटो घटनास्थलको अनुगमन गरेर त्यहाँको यथार्थ ल्याउने छ।

‘अनुगमन टोलीले लकडाउनको समयमा सामाजिक दूरी कायम राखेर घटनाको सत्यतथ्य विवरण र विस्फोटको विषयको इतिवृत्तान्त केन्द्रमा गराउने छ’, सचिव भट्टराईले भने, ‘टोलीलाई सहयोग गर्न रोल्पा जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरिएको छ।’

बिहीबार साँझ गोठालाा गएका रोल्पाको त्रिवेणी गाउँपालिका-७ गैरीगाउँका चार बालबालिकाको बम विस्फोटमा परी मृत्यु भएको थियो। १४ वर्षीय नोकिराम डाँगी, गौरव नेपाली, ११ वर्षीया विमला खत्री र ५ वर्षीय विजय खत्रीको विस्फोटमा परी मृत्यु भएको हो। Source: annapurnapost