add post
  • Terai Nepal
  • २०७७ बैशाख १९ गते, शुक्रबार १६:४० मा प्रकाशित

चोरबाटो हुँदै भारतबाट आएका थिए रुपन्देहीका कोरोना संक्रमित, साइकल लिएर लिन पुगेका थिए दाइ

प्रदेश ५ मा पहिलोपटक शुक्रवार कोरोनाभाइरस (कोभिड– १९) का २ जना बिरामी भेटिएका छन् । बाँकेका ६० वर्षीय र रूपन्देहीका २५ वर्षिय पुरुषमा कोभिड १९ पुष्टि भएको हो ।

रुपन्देहीको कोटहीमाई गाउँपालिकाका ती २५ वर्षे युवा यही वैशाख ५ गते भारतको दिल्लीबाट लुकिछिपी घर आएका थिए ।

भारतबाट आएको स्थानीयले थाहा पाएपछि उनलाई गाउँपालिकाले मर्चवारको क्वारेन्टाइनमा राखेको कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेले जानकारी दिए ।

उनले भने, ‘हाम्रो गाउँपालिकासँग जोडिएका भारतको विभिन्न ठाउँमा कोरोनाका बिरामी भेटिएपछि हाम्रो गाउँपालिकाको सबै क्षेत्र सील गरेको थियो, ती युवा मर्चवारी गाउँपालिकाको सीमा क्षेत्रबाट लुकेर गाउँ आएका रहेछन् । गाउँलेले खबर गरेपछि क्वारेन्टाइनमा राखिएको हो ।’

क्वारेन्टाइनमा रहेका ३१ जनामध्ये २० जनाको आरडीटीबाट जाँच गर्दा नेगेटिभ आएपछि घर पठाइएको थियो । भने बाँकी ११ जनाको पीसीआर जाँच गर्दा ती युवाको मात्र कोरोना पोजेटिभ आएको गाउँपालिकाले जनाएको छ । ती युवालाई अहिले बुटवलस्थित कोरोना विशेष अस्पतालमा ल्याउने तयारी गरिएको छ ।

सीमा नाकामा उनलाई ती दाइ पुगेका थिए । दुईभाइ साइकलमा आए थिए ।

अहिले उनको दाइ र परिवारलाई क्वारेन्टाइनमा राखिएको छ । युवाको अवस्था सामान्य छ । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. विनोद गिरीले कोटहीमाइका ती संक्रमित युवा लकडाउनको समयमा लुकिछिपी नेपाल भित्रिएको जानकारी दिए ।

उनले भने, ‘अन्य सबै कुरा विस्तृत बुझ्दै छौं ।’ रुपन्देहीमा संक्रमित बिरामी भेटिएसँगै त्रास बढेको छ ।

सीमा क्षेत्रमा १ हजार सशस्त्र प्रहरी परिचालन गरिएको बताइए पनि नेपाल भित्रिने क्रम रोकिएको छैन । युवालाई बुटवलस्थित कोरोना विशेष अस्पतालमा ल्याइएको छ ।  Source: lokaantar