add post
  • Terai Nepal
  • २०७७ बैशाख १८ गते, बिहीबार १९:४९ मा प्रकाशित

सप्तरीमा रतुवा मृग मारेका २ जनालाई मृगसहित पक्राउ

राजविराज — लकडाउनका बेला वन क्षेत्रमा जंगली जनावरको सिकार र काठको तस्करी बढेको छ । डिभिजन वन कार्यालय सप्तरीले सक्रियता बढाएपछि शिकारी र तस्करहरु पक्राउ पर्न थालेका छन् । तर कतै सुरक्षाकर्मी समेतको सहयोगमा जंगली जनावर मार्ने काम पनि भइरहेको छ ।

डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सन्तोषकुमार झाका अनुसार बुधबार राति सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिका–५ स्थित महुली खोलाको रतुवा मृग मारेका २ जनालाई मृगसहित पक्राउ गरिएको छ ।

गस्तीमा रहेका सशस्त्र वन रक्षकले गोलीको आवाज सुनेपछि त्यस क्षेत्रमा जाँदा मृत मृग लिएर जाँदै गरेको अवस्थामा २ जनालाई नियन्त्रणमा लिएको झाले जानकारी दिए । मृगलाई ३ वटा गोली लागेको छ । मृगलाई गोली हान्‍ने समूहमा अझै केही हतियारधारी व्यक्तिहरु रहेको र उनीहरु भागेको झाले बताए ।

मृगसहित पक्राउ गरिएका दुईजना उदयपुरको भुल्के र जोगीदह क्षेत्रका बासिन्दा हुन् । भुल्के कोरोना संक्रमणको हट स्पट हो । पक्राउ गरिएका दुवै जनालाई डिभिजन वन कार्यालय अन्तरगतको महुली सव डिभिजनमा राखिएको छ ।

यसैबीच जिल्लामा अवैध रुपमा मारिएको बँदेल सुरक्षाकर्मीहरु समेतले खाएको खुलेको छ । लकडाउनकै क्रममा केही दिन अघि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको भारदह क्षेत्रमा एउटा जंगली बदेल स्थानीयले अवैध रुपमा मारेको र त्यसको मासु भारदहस्थित सशस्त्र प्रहरीको पोष्टमा रहेका सुरक्षाकर्मी सहित अन्यत्र पनि भाग लगाएर वितरण गरिएको थियो ।

भारदहस्थित सशस्त्र प्रहरी पोष्टका सशस्त्र प्रहरी निरीक्षक वैद्यनाथ झाले बँदेल कहाँ र कसरी मारिए भन्ने कुरा थाहा नभएपनि आफूलाई ७ किलो मासु आएको र २०/२२ जना सुरक्षाकर्मी मिलेर खाएको बताए ।

सशस्त्रका प्रहरी निरीक्षकले मासु आएको स्वीकार नै गरेकाले बँदेल अबैध रुपमा मारिएको पुष्टि भएको छ । स्रोतका अनुसार उक्त बँदेलका मासु केही उच्च पदस्थ अधिकारीहरु समक्ष समेत पुर्‍याइएको थियो ।

जिल्लामा चोरी सिकारी बढेपछि वन कार्यालयले गस्ती बढाएसँगै तस्करहरु पक्राउ पर्न थालेका छन् । बुधवार राति नै सप्तरीको शम्भुनाथ नगरपालिका–७ भंगहा वन क्षेत्रबाट १५ थान सालको चिरान काठ समेत बरामद भएको छ । लकडाउनका बाबजुद वन क्षेत्रमा अहिले ब्यापक रुपमा गस्ती खटाइएको डिभिजन वन प्रमुख झाले बताए ।

लकडाउन भएपनि बन क्षेत्रबाट काठ तस्करी नरोकिएपछि पछिल्लो समय डिभिजन वन कार्यालयले नियमित गस्ती थप बढाएको छ । सो क्रममा पछिल्लो समय धमाधम काठ पक्राउ गर्न थालिएको छ ।

कंचनरुप नगरपालिका १२ का जितबहादुर श्रैष्ठको घर पछाडी लुकाईराखिएको सालको गोलिया ६ थान,सुरुङगा नगरपालिका ३ स्थित विभिन्न व्यक्तिका घरमा लुकाएर राखिएको सालको बल्लाबल्ली ११ थान र १५ सय केजी सालको दाउरा,बलारदह स्थित शिव पार्वती समेतका सामुदायिक वन भित्र अनियमित किसिमले सालको रुख काटी लुकाईछिापाई राखिएको सालको गोलिया १८ थान बरमद गरिएको छ ।

यस्तै, शम्भुनाथ नगरपालिका–७ स्थित सरहासक्सल सामुदायिक वन क्षेत्रवाट सालको बल्लाबल्ली ९ थान,रुपनी गाउँपालिका ६ वाट सालको चिरान ११ थान,शम्भुनाथ–७ बाट सालको चिरान २ थान नियन्त्रणमा लिइएको वन कार्यालयले जनाएको छ । Source: eKantipur