add post
  • Terai Nepal
  • २०७७ बैशाख १८ गते, बिहीबार १५:०३ मा प्रकाशित

चार जनाको रहस्यमय मृत्यु भएको महोत्तरीमा फेरि दुई जनाको गयो ज्यान

महोत्तरी, १८ बैसाख । महोत्तरीमा चार जनाको रहस्यमय मृत्यु भएको चर्चा सेलाउन नपाउँदै थप दुई जनाको ज्यान गएको छ ।

मंगलबार चार जनाको रहस्यमय रुपमा मृत्यु भएको २४ घण्टाभित्रै थप दुई जनाको रहस्यम रुपमै मृत्यु भएपछि स्थानीय मात्र चकित भएका छैनन् घटनाको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरु नै अलमलमा परेका छन् ।

मंगलबार रहस्यमय रुपमा मृत्यु भएका चार जनाको मृत्युको अनुसन्धान चलिरहेका बेला महोत्तरीको भंगहा नगरपालिका–७ मेघनाथ गोरहन्नामा थप दुई जना मृत्यु भएपछि झन् रहस्य बढेको स्थानीइ बताउँछन् ।

बुधबार राति स्थानीय ३२ वर्षीय सिकिन्दर सिंह र बिहीबार दिउँसो स्थानीय ५५ वर्षका सिताई महराको मृत्यु भएको भंगहा नगरपालिकाका मेयर सञ्जिव साहले जानकारी दिएका छन् ।

सोही टोलका मंगलबार स्थानीय ४० वर्षका मोहन चौधरी, ५२ वर्षका नथुनी चमार, ५४ वर्षका लालबाबु सिंह र बर्दिवास नगरपालिकाका ५२ वर्षका गंगाराम सदाको मंगलबार साँझ र बुधबार बिहान मृत्यु भएको थियो ।

सोही बस्तीमा झण्डै एकसाता अघि ५५ वर्षका महेन्द्र चौधरीको समेत मृत्यु भएको थियो । योसँगै एक सातामा मेघनाथ गेहन्ना टोलमा सात जनाको मृत्यु भएको मेयर साहले जनाएका छन् ।

उनीहरुको विषाक्त मदिरा सेवनका कारण मृत्यु भएको हुन सक्ने आशंका गरिए पनि मृत्युको वास्तविक कारण अहिलेसम्म खुल्न सकेको छैन । बुधबारसम्म मृत्यु भएका पाँचै जनाको शव दाहसंकार गरिसकिएको छ ।

बिहीबार राति मृत्यु भएका ३२ वर्षका सिकिन्दर सिंहको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल जलेश्वर लगिएको वडाध्यक्ष बासुदेवसिंह थारुले जानकारी दिएका छन् ।

एक–एक गरी टोलमा मृत्यु हुन थालेपछि स्थानीय त्रसित भएका छन् । बुधबार बिहान मृत्यु भएका गंगाराम सदाको शव प्रहरीले नियन्त्रणमा लिन जाँदा स्थानीयले उनको दाहसंकार गरिसकेका थिए ।

कोरोना परीक्षण गरिने
एक सातामा रहस्यमय रुपमा मृत्यु भएकाको वास्तविक कारण खुल्न नसकेको महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताएका छन् ।

‘रक्सीले मृत्यु भएको आशंका गरिए पनि रक्सी नखाएका केही व्यक्तिको पनि मृत्यु भएको पाइयो । उनीहरुलाई उपचारको लागि लग्दा डाक्टर उपचार गर्न डराउँछन्’, उपरीक्षक अधिकारीले सुनाए ।

उनीहरुको के कति कारणले मृत्यु भएको छ भन्ने विषयमा पत्ता लगाउन बुधबार राति मृत्यु भएका सिकिन्दरको शवलाई पोस्टमार्टम गर्नुका साथै काेराेना परीक्षण समेत गरिने उपरीक्षक अधिकारीले जानकारी दिएका छन् । Source: Nayapage