add post
  • तराई नेपाल
  • २०७७ बैशाख ११ गते, बिहीबार १२:५२ मा प्रकाशित

आमा मेरी आमा

बैशाख ११ | आकार मात्रा मात्र लागेको शब्द आमा मेरी आमा सजिलै पढ्न सक्नुहुन्छ । प्रौढ कक्षा जान थालेपछि उहाँले आकार इ (ई) कार उ (ऊ) कार लागेका शब्दहरु ठम्याउन थाल्नुभएको हो । बन्दाबन्दीले कक्षा बन्द नभएको भए अहिलेसम्म आमा आधा अक्षर जोडिएका शब्द पनि चिन्ने भइसक्नुहुन्थ्यो होला ।

उमेरले ६ दशक टेकेपछि आमालाई पोहोरदेखि पढ्ने रहर फेरि जाग्यो । प्रौढ कक्षाबाट शिक्षा लिने कसरत यसअघि पनि उहाँले गर्नुभएको थियो । तर सँधै छोरीहरुको पढाइको पिरलो मान्ने आमाको अक्षर चिन्ने चाहनालाई हामीहरुले उति ध्यान दिएनछौँ कि जस्तो लाग्छ । घरका सबैजसो काम, सन्तानको पढाइ र अरु खर्चको चाँजोपाँजो मिलाउने कामबाट फुर्सद निकालेर साँवा अक्षर छिचोल्ने उहाँको चाहनालाई हौसला दिनुको साटो हामीले झिँझो मानेर हतोत्साही पो गर्यौँ कि ? अब पढेर के हुन्छ र भनेर झर्कोफर्को पो गर्‍याैँ कि ?

तर आमा पढ्न पटक्कै झर्को मान्नुहुन्न । एउटै कुरा लेख्दालेख्दा एउटा कपी सक्नुहुन्छ । मुन्टो दुख्ने गरी किताबमा घोत्लिनुहुन्छ । बाह्रखरीको किताबप्रति उहाँको गज्जबको प्रेम छ । सँधै सिरानीमै हुन्छ बाह्रखरीको किताब । बुढेसकाल लागेर पनि होला आमाको दिमागले सबै कुराहरु एक दुई पटकमै टपक्कै टिपिहाल्दैन । फेरि पढ्दै र सिक्दै जाँदा पुरानो सिकाइ बिर्सँदै पनि जानुहुन्छ । हिँड्दैछ पाइला मेट्दैछ भनेजस्तो । तर पनि अक्षर चिन्ने यात्रा अघि बढिरहेकै छ आमाको । अक्षर खररर पढ्ने सपनालाई बिपना बनाइ छोड्ने आमाको यात्रा अविराम चलिरहेको छ । आमालाई हामीहरु पनि हौस्याइरहेका छौँ ।

उहाँको पढाइप्रतिको लगावले मलाई मन्त्रमुग्ध बनाउँछ । आमा राति अबेरसम्म पनि अक्षरहरु गुनगुन गुनगुनाइ रहनुभएको हुन्छ  । लयबद्ध पारामा आमाले अक्षर होइन मन्त्र पढिरहेको जस्तो लाग्छ । आमाले कुनै नयाँ अक्षर चिन्दा वा पढ्न सक्दा उहाँको मुहारमा छाउने उज्यालो आभा देख्दा म भावुक हुन्छु । म कल्पना गर्छु, मैले अक्षर तोते बोली बोल्न थाल्दा, अक्षर  चिन्दा, लेख्दा वा पढ्दा सायद उतिबेला आमाबुबा यस्तै गरी खुसी र भावुक बन्नुहुन्थ्यो होला ।

जुन दिन आमाले मेरो नाम शुद्धसँग लेखेर देखाउनुभएको थियो । म पिलपिल गर्दै उहाँलाई अँगालो हाल्न पुगेकी थिएँ । थाहा छैन मैले पहिलो पटक आमाको नाम कहिले लेखेँ । मैले उहाँको नाम लेखेर त कहिल्यै देखाइँन उहाँलाई । आमाले पढ्न सक्नुहुन्न थियो नि त । आमाले मेरो नाम खेलेर देखाएको दिन म यो कुरा सम्झेर पनि अझ भावुक भएँ । आमाको यो सफलतामा खुसीका आँसु त यसै झरेकै थिए ।

पढेर के गर्ने विचार छ आमा ? भनेर मैले सोधेको छैन । तर मलाई थाहा छ आमाले अब पढेर कतै जागिर खानु छैन । कुनै व्यापारको बहीखाता राख्नु पनि छैन । तर आमालाई अक्षर चिन्नु छ । लेखेको कुरा खररर पढ्न सक्ने बन्नु छ ।

समयमा हामीले जस्तो पढ्न पाएको भए आमा के बन्ने सपना देख्नु हुँदो हो ? के बन्नु हुँदो हो ? औपचारिक पढाइ गर्न नपाएकैले आमाका यी सपनाहरुको प्वाँख पलाउनै पाएन सायद । उसो त, पढेरभन्दा परेर जान्ने भएका हाम्री आमा र हाम्रा आमाहरुलाई औपचारिक शिक्षा नपाएका कारण ठाउँठाउँमा औँठा छाप लगाउनुपरेको, कसैले लेख्न आउँदैन भनेर खिसिट्युुरी गरेको कुराको इख पनि त होला । आमाहरु सितिमिति बोल्दैनन्, वेदना र दुःखका दर्जनौँ ठेलीहरु बोकेरै, समस्या र पीडाका पहाडहरुमा मनभित्र ताल्चा ठोकेरै हाँसिदिन सक्छन् र पो त । कसैलाई कहँदैनन्, कतै पोख्दैनन् मनका बहहरु र पो त ।

अल्मलिँदै भए पनि अक्षर चिन्न अनि बाङ्गोटिङ्गो गर्दै अक्षर लेख्न सक्ने भएपछि आमाले आफ्ना भावना, दुःख, सुख, भोगाइ लेखेर राख्नुहुन्छ होला कि ? धेरै देखाउनुहोला र केही हामीसँग पनि गोप्य नै राख्नु पो होला कि ? के थाहा आमाको हामीसँगै पनि कुनै गुनासो छ कि वा कसैले नदेखुन् भन्ने कुरा पनि छन् कि ? अखबार पढेर नयाँ नयाँ कुरा थाहा पाउनुहुन्छ कि ? कथाका किताबहरु पढेर आनन्द लिनुहुन्छ कि या धर्मकर्मका किताबमा पो आमाको ध्यान जाला कि ? यो कुरा अहिलेलाई अनुमान मात्र हो । तर ती दिनका लागि म भने अहिल्यै उत्साहित छु । आमाको लगन, मेहनत, आत्मविश्वास, अठोट र लगातारको परीश्रम हेर्दा यो क्षण पनि छिट्टै आउनेमा म ढुक्क छु ।

आफ्ना सयौँ सपनालाई थाँती राख्दै सन्तानको खुसीका लागि मरिहत्ते गर्ने, आफू भोकै भएर सन्तान अघाएकोमा खुसी हुने, अनेकौँ कष्ट सहेर पनि अवसरका ढोका खोलिदिने, आमाका बारे जति बयान गरे ्पनि कमै हुन्छ । ती थाँती राखिएका सपनाहरु धेरै आमाले खोल्न पाउँदैनन वा भनौँ खोल्ने अवसर नै प्राप्त हुँदैन । तर ती सपनाहरुको पोको फुकाएर उड्न दिनु सन्तानले आमाप्रति अर्पण गर्ने सबैभन्दा ठूलो उपहार हो सायद ।

शिक्षाको मार्गमा अघि बढ्न चाहने आमाहरुलाई सन्तानले त्यो उज्यालोतर्फ डोर्‍याएर सहयोग गर्न पाउनु जत्तिको अहोभाग्य सायदै अरु थोक होला । आमाले औँला समाएर थिरीथिरी गराएका सन्तानका हातले आमालाई कखरा छिचोल्न सघाउनु, पढ्नु भनेर हौस्याउनु अनि पढेलेखेको देखेर खुसीले पुलकित हुनु भाग्यको कुरा त हुँदै हो सँगै, सन्तानको कर्तव्य र दायित्व पनि त हो नि ।

हाम्रो यति हौसला पाए हाम्रा निरक्षर आमाहरुले अक्षर सिकाइको सँसारमा पङ्ख फिँजाएर  सपनाको उडानलाई सार्थक बनाउनेछन् । अनपढ वा केही नजान्ने भनेर समाजले लगाएको ‘ट्याग’बाट आफूलाई माथि उठाउने छन् र आफूलाई खिसिट्युरी गर्नेहरुलाई भन्नेछन्, देख्यौ हामी नसक्ने वा नजान्ने हुँदै होइनौँ । मात्र हौसला नपाएर, मात्र अवसर नपाएर र तिमीहरुले पढेर के गर्छौ र भन्ने हेलाहोँचोपूर्ण व्यवहारका कारण मात्र हामी पछि पारिएका हौँ ।

यो कुरा उहाँहरुका लागि बुढेसकालमा एक्लोपनबाट मुक्ति दिने गजबको उपाय पनि हुनेछ । मैले पनि लेखपढ गर्न सक्छु भन्ने कुराको खुसी सन्तानले किनिदिने मीठा मीठा खानेकुरा वा राम्रा लुगाफाटो वा गहनाभन्दा पनि कता हो कता धेरै हुनेछ । ठूलो हुनेछ ।

आमा कर्तव्य निर्वाहको क्रम अनि बन्दाबन्दीको असरका कारण पहिलो पटक मातातीर्थ औँसीको दिन तपाईँबाट टाढा रहन बाध्य छु । तपाईँको यो यात्रामा म सधै साथ दिनेछु ।

घरबाहिर निस्कन नपाइने यो बन्दाबन्दी तपाईँका लागि लेखपढका लागि गजबको मौका बनोस् । अब घर आउँदा तपाईँले अस्तिभन्दा अझ धेरै अक्षर सिकेको, पढेको र लेखेको हेर्न पाउँ । शुभकामना आमा । Source:ujyaaloonlin

तराईसबै