add post
  • Terai Nepal
  • २०७७ आश्विन ११ गते, आईतवार १५:३६ मा प्रकाशित

सिरहाको मिर्चैयामा भोलीदेखि विद्यालयहरु सञ्चालनमा आउने !

लहान : सिरहाको मिर्चैयामा भोली (आइतवार)देखि विद्यालयहरु सञ्चालनमा आउने भएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी विद्यालय सञ्चालन गर्न नगरपालिकाले निर्देशन दिएको हो ।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरेपछि गत चैत ११ बाटै विद्यालयहरु बन्द छ । लामो समयदेखि अवरुद्ध पठनपाठन नगरपालिकाको निर्णयअनुसार भोलीदेखि नगर क्षेत्रका निजी तथा सामुदायिक विद्यालय सञ्चालन हुन लागेको छ ।

कक्षा सञ्चालन गर्दा सामाजिक दूरी कायम हुने गरी सिफ्टमा सञ्चालन गरिनुपर्ने, लकडाउनको अवधिको कुनै पनि शुल्क विद्यालयले अभिभावकसँग लिन नपाउने निर्णय गरेको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

विद्यार्थीलाई बसमा ल्याउँदा एकातर्फको जोडी सिटमा एक जना मात्र बसाउने र विद्यालयमा प्रवेश गर्नुअघि साबुन पानीले हात धुन लगाएर मास्कसहित मात्रै प्रवेश गराउन नगरपालिकाले निर्देशन दिएको छ । विद्यालयमा एउटा डेस्कमा बढीमा दुई जना मात्र बस्न पाउने पनि भनिएको छ । विद्यार्थीमा कुनै किसिमको लक्षण देखिए तत्कालै जाँच गराउन लगाउने पनि नगरपालिकाले निर्देशन दिएका छ ।

तराईसबै