जर्जर बाटोमा जोखिमपूर्ण यात्रा
मिकाइल आलम
भण्टाबारी / कोशी ब्यारेजको बाटो हुँदै यात्रा गर्ने सवारीसाधन र पैदलयात्रीले कष्टकर यात्रा गर्दै आएका छन् ।
भारतीय पक्षको अधीनमा रहेको कोशी ब्यारेज पुल हुँदै यात्रा गर्ने यात्रुले वर्षौंदेखि यस्तै समस्या खेप्दै आएका छन् । तर, प्रदेश १ र २ लाई जोड्ने तथा हजारौंको सङ्ख्यामा गाडी गुड्ने पुल भए पनि बाटो निर्माणमा कसैको ध्यान गएको पाइँदैन । जसले गर्दा दुर्घटनाको जोखिम उच्च रहेको छ । जब पानी पर्छ, सडक हिलाम्मे हुन्छ भने अरू समयमा सडक धुलाम्मे हुन्छ ।
‘वर्षाको समयमा हिलाम्मे सडकले सास्ती पाउने यात्रुहरू सुख्खा समयमा धुलाम्मे सडकले कष्टकर यात्रा गर्छन्’ –स्थानीय बलराम क्षेत्रीले भने । वर्षाको सिजनमा वर्षौंदेखि मर्मत नभएको बाटोमा माटो र ग्राभेल हालिदिँदा आवत–जावतमा झनै समस्या आएको छ । तर,सम्बन्धित निकायको यसतर्फ ध्यान नगएको उनले बताए ।
खाल्डाखुल्डीमा पानी जमेकोले पूर्व–पश्चिम राजमार्गमा पर्ने कोशी ब्यारेज भण्टाबारी सडक–खण्डमा यात्रा गर्न निकै गाह्रो भएको क्षेत्रीको भनाइ छ । कालोपत्रे भत्किएर बनेको खाल्डाखुल्डी नपुरिँदा र स्तरोन्नति नहुँदा यात्रुहरूले जोखिमपूर्ण यात्रा गर्दै आएका छन् । पटक–पटक ध्यानाकर्षण गराउँदासमेत सुनसरी र सप्तरीको सीमा जोड्ने कोशी ब्यारेज क्षेत्रको बाटो मर्मत नहुँदा सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको कोशी ब्यारेजका अर्का स्थानीय समिम मियाँ बताउँछन् ।
दिनहुँ हजारौं सवारीसाधन गुड्ने बाटो कोशी प्रोजेक्ट र सडक विभागले मर्मत गर्न तदारुकता नदेखाउँदा दुर्घटनाको जोखिम बढेको हो । वर्षाको समयमा कोशी ब्यारेजमा पानीको बहाव बढ्दा बाटो थप जोखिमपूर्ण हुने गरेको मियाँले बताए । वर्षापछि जमेको पानीले गर्दा कोशी ब्यारेज प्रवेश गर्ने बाटो हिलाम्मे भएको छ । वर्षौंदेखि यस्तो समस्या रहिआएको भए पनि सम्बन्धित निकायले ध्यान नदिएको स्थानीय बताउँछन् । बाटोको अवस्था दयनीय बन्दै जाँदासमेत भारतीय पक्षले कहिलेकाहीँ खाल्डाखुल्डी भर्ने काम मात्र गरेको तर दीर्घकालीन समस्याको समाधानतर्फ चासो नदिएको स्थानीयको गुनासो छ ।
‘भारतीय पक्षले कहिलेकाहीँ सडकको खाल्डाखुल्डी टालेर जनताको आँखामा छारो हाल्दै आएको छ । तर, बाटो पिच गरेको छैन, जसले गर्दा केही समयपछि समस्या ज्युँ का त्युँ छ’ स्थानीय महेश मण्डलले भने, ‘दीर्घकालीन समाधान गर्न नेपाली पक्षले पहल गर्नुपर्छ ।’ कोशी ब्यारेज पुल हुँदै यात्रा गर्ने यात्रुबाहक गाडीदेखि मालवाहक गाडी बिग्रने गरेका छन् । यता कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले कोशी ब्यारेज कोशी प्रोजेक्ट अन्तर्गत रहेको बताउँदै दिन प्रतिदिन बाटोको अवस्था दयनीय हुँदै जाँदा दुर्घटनाको जोखिम बढेको बताए । अन्सारीले कोशी ब्यारेजको बाटो कोशी प्रोजेक्टको कार्यक्षेत्रभित्र पर्ने भएकोले गाउँपालिकाले सूचना प्रकाशित गर्नुबाहेकको विकल्प नरहेको बताए ।
source: janatajagran