add post
  • Terai Nepal
  • २०७७ श्रावण ३ गते, शनिबार ०९:१३ मा प्रकाशित

टिकुलियामा अझै डुंगाबाटै वारपार

रौतहट — गौर नगरपालिका–४ टिकुलियास्थित लालबकैया नदीमा दुई वर्षअघि डुंगा दुर्घटना हुँदा पाँच जनाले ज्यान गुमाए । बाढीले उर्लिएको नदीमा अटाई–नअटाई यात्रु बोकेको डुंगा निर्माणाधीन पुलको पिलरमा ठोक्किएर पल्टिएको थियो । तर, पुल अझै बनेको छैन । यात्रु अहिले पनि उसै गरी डुंगामा जोखिम मोल्न बाध्य छन् ।

सरकारी लगानीमा २०७१ सालमा पुल शिल्यान्यास भएको थियो । ठेक्का लिएको थियो पप्पु कन्स्ट्रक्सनले । दुई वर्षभित्र पुल बन्ने खबरले स्थानीय खुसी थिए । तर ठेकेदारको लापरबाहीले कामै हुन सकेन । अब पनि पुल कहिले बन्छ, भन्न सकिँदैन ।

टिकुलियाका अधिकांश बासिन्दाको खेत नदीपारि बन्जाराहा क्षेत्रमा पर्छ । पारि ईशनाथ नगरपालिका पर्छ । त्यहाँका मानिस यही बाटो भएर सदरमुकाम गौर आउनुपर्छ । उनीहरू मोटरसाइकल, साइकल पनि डुंगामा राखेर वारपार गर्छन् । डुंगाको क्षमता १८/२० जना भए थेग्नै नसकिने गरी मानिसहरू चढ्छन् । एउटा मात्र डुंगा भएको र त्यो पनि साँझ परेपछि नचल्ने भएकाले यसरी भिड लाग्नु उनीहरूको बाध्यता बन्छ ।

हिउँदमा ग्राभेल राखेर डाइभर्सन बनाए पनि वर्षातमा डुंगा चढ्नुको विकल्प छैन । समयमा पुल नबन्दा बन्जरहा, औरैया, मठिया, जोकहा, बैरिया, अकोलवा, रामपुर खापसहित दर्जनौं गाउँका बासिन्दालाई सदरमुकाम गौर आउन मुस्किल पर्छ ।

टिकुलियाका सुरज साह बन्जाराहा गाउँ जाने बेला डराई–डराई डुंगा चढ्छन् । चालकलाई होसियारी अपनाउन भनिरहन्छन् । उनको खेत पारि छ । दुई वर्षअघिको दुर्घटनामा उनका आफन्तको ज्यान गएको थियो । ‘पुल बन्ला र आनन्दले वारपार गर्न पाइन्छ भन्ने लागेको थियो,’ उनले भने, ‘ठेकेदारका कारण गाउँलेले दुःख पाउने भए ।’ वडाध्यक्ष भुवनेश्वर शाहीले मानिसहरू डुंगामा त्रासपूर्वक आउजाउ गर्ने गरेको बताउँछन् ।

ठेकेदारले चार वर्षको अवधिमा पुलको काम ६५ प्रतिशत मात्र सकेको छ । तत्कालीन ंसडक डिभिजन कार्यालय हेटौंडाले २० करोड ७२ लाखको लागतमा गौर–औरैया जोड्ने गरी २२५ मिटर लम्बाइ र ७.२ मिटर चौडाइको पक्की पुल बनाउन ठेक्का आह्वान गरेको थियो ।

२०७१ असार २९ मा लागत इस्टिमेटभन्दा २८ प्रतिशत कम १४ करोड ९३ लाखमा टेन्डर सकारेर तीन वर्षभित्र पुल बनाउने सम्झौता पप्पु कन्ट्रक्सनका तत्कालीन सञ्चालक हरिनारायण रौनियारले गरेका थिए । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ कातिक २९ गते पुल शिलान्यास गरेका थिए । सम्झौताअनुसार २०७४ माघ २९ मा पुल बनिसक्नुपर्थ्यो । ठेकेदार रौनियारले निर्माण सामग्री अभाव, बन्द, हड्ताल, भूकम्पजस्ता कारणले ढिलाइ भएको दाबी गर्दै आएका छन् ।