add post
  • Terai Nepal
  • २०७७ असार २ गते, मंगलवार २०:०९ मा प्रकाशित

सप्तरीमा बस्ती खाली गर्न भारतीय सुरक्षाकर्मीको दबाब, नमाने भत्काइदिने धम्की

सप्तरीको छिन्नमस्ता गाउँपालिका-३ का विनोद सदा सीमासँगै जोडिएको मनसुकी टोलमै जन्मिए, हुर्किए र अहिले वृद्ध अवस्थामा पुगे। उमेरले ६० वर्ष पार गरिसकेका सदालाई काल नआएसम्म मनसुकी टोलमै बसेर नेपाली भूमि र समूदायको रक्षा गर्ने इच्छा छ। तर यतिबेला भने विनोदलाई भारतीय सुरक्षाकर्मीको दवाबले चिन्ता थपिएको छ।

विनोदसहित मनसुकी टोलमा ७५ परिवार मुसहर समूदाय चार पुस्तादेखि बसोवास गर्दे आएका छन्। केही समयदेखि बस्ती खाली गर्न भारतीय सुरक्षाकर्मीले पटक पटक दवाब दिँदै आएकोमा यतिबेला जेसिवी लगाएर बस्ती भत्काइदिने धम्की नै दिन थालेको सदाले जानकारी दिए।

३ सय मुसहर समूदायको बसोवास रहेको बस्ती नै भत्काइदिने धम्कीका कारण उनीहरुलाई उठिवास हुने चिन्ताले पिरोलेको छ।

भूमिहिन मुसहर समूदायलाई अन्यत्र ओत लाग्ने ठाउँसमेत नरहेको तथा बन्दाबन्दीले अभावग्रस्त दैनिकी चलिरहेको बेला भारतीय सुरक्षाकर्मीले पटक पटक दबाब दिँदै आएकोमा यतिवेला जेसिवी लगाएर बस्ती भत्काइदिने धम्की नै दिन थालेपछि उनीहरु चिन्तित बनेका हुन्। मुसहर समुदायले आफूहरुलाई उठिबास हुनबाट बचाइदिन सम्बन्धित सबै पक्षसँग आग्रह समेत गर्दै आएका छन्। Source: annapurnapost