add post
  • Terai Nepal
  • २०७९ बैशाख २९ गते, बिहीबार १६:०६ मा प्रकाशित

लुम्बिनीमा बुद्ध पूर्णिमाको दिन के छ मोदीको कार्यतालिका?

काठमाडौँ-  कुर्सी सम्हालेपछि पाँचौ पटक नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण तालिका सार्वजनिक भएको छ।

आगामी जेठ २ गते सोमबार बुद्ध पूर्णिमाका अवसरमा भारतीय प्रधानमन्त्री मोदी सोझै लुम्बिनी आउन लागेका हुन्।

लुम्बिनीमा भारतीय प्रधानमन्त्री मोदीले नेपाली समकक्षी शेरबहादुर देउवासँग शीष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ भने राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गर्नेछन्। मोदीले लुम्बिनीमा केही घन्टामात्र बिताउनेछन्।

लुम्बिनीमा प्रधानमन्त्री देउवा र मोदी मायादेवी मन्दिरमा हुने विशेष पूजामा सहभागी हुनेछन् भने दुवै प्रधानमन्त्रीले भारतको सहयोगमा बन्ने बौद्ध संस्कृति तथा परम्परा केन्द्रको शिलान्यास गर्ने कार्यक्रम छ।

दुवै देशका प्रधानमन्त्रीहरुले बुद्ध जयन्तीका अवसरमा लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभाहलमा हुने बुद्ध जयन्ती विशेष समारोहमा सहभागिता जनाउनेछन्।

त्यस्तै, दिउँसो प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री मोदीसहितको टोलीलाई दिवाभोज दिनेछन्।

परराष्ट्र मन्त्रालयले बिहीबार मोदी भ्रमणको कार्यतालिका सार्वजनिक गर्दै भनेको छ- ‘भारतीय प्रधानमन्त्रीको आसन्न भ्रमणले द्विपक्षीय सम्बन्ध तथा दुई देशबीच सदियौंदेखि रहिआएको सामाजिक—सांस्कृतिक सम्बन्ध अझ विस्तार गर्न योगदान पुर्‍याउनेछ।’

भारतीय विदेश मन्त्रालयले पनि विज्ञप्ति जारी गर्दै मोदीको भ्रमणलाई नियमित उच्चस्तरीय भ्रमणको आदानप्रदानको परम्पराको निरन्तरता भनेको छ।