२० प्रतिशत रोपाइँ सकियो
काठमाडौं : रासायनिक मलको चर्को अभावका बीच उच्च पहाडी क्षेत्रका किसानले २६ प्रतिशत हाराहारीमा रोपाइँ सम्पन्न गरेका छन्। असार १० सम्म यो परिमाणमा उच्च पहाडी क्षेत्रमा रोपाइँ भएको हो।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार तुलनात्मक रुपमा यो वर्ष उच्च पहाडी क्षेत्रमा रोपाइँ समयमै भएको हो। उच्च पहाडी क्षेत्रमा रोपाइँका लागि क्षेत्रफल कम भएकाले उक्त क्षेत्रमा असारको सुरुआति समयमै बढी परिमाणमा रोपाइँ सम्पन्न भएको हो। यसपछि मध्य पहाडी क्षेत्रमा २० प्रतिशतको परिमाणमा रोपाइँ भएको छ।
सबैभन्दा कम तराई क्षेत्रमा १९.७५ प्रतिशत हाराहारीमा रोपाइँ भएको छ। देशभर औसत रोपाइँ २० प्रतिशत सम्पन्न भएको छ। अघिल्लो वर्ष यस अवधिमा ११.६४ प्रतिशत हाराहारी रोपाइँ सकिएको थियो। हालसम्म २ लाख ७५ हजार २९ हेक्टरमा रोपाइँ सकिएको मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले जानकारी दिए।
नेपालमा कूल खेती हुने क्षेत्रफलको ४७ प्रतिशत हेक्टरमा धान खेती हुन्छ। देशभर गरी धान खेती हुने क्षेत्रफल १५ लाख ५२ हजार हेक्टर भए पनि १४ लाख ५८ हजार हेक्टरमा मात्रै बर्खे धान लगाइन्छ। बाँकीमा चैते धानको हुन्छ। केसीकाअनुसार यसमध्ये क्षेत्रफल र उत्पादनका आधारमा तराइँ क्षेत्रको हिस्सा ७० प्रतिशतभन्दा बढी छ।
किसानले यो वर्ष रोपाइँका लागि रासायनिक मलको चर्को अभाव खेपिरहेका छन्। रासायनिक मल उपलब्ध गराउने कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनसँग मुख्य गरी युरिया मलको मौज्दात सकिँदा उक्त मल किसानले पाउन सकेका छैनन्। जीडीपीमा धानको योगदान ७ प्रतिशत छ।
धान उत्पादनमा १० प्रतिशतले तलमाथि हुँदा जीडीपीमा एक प्रतिशतले घटबढ हुने गर्छ। जुन वर्ष धानको उत्पादन घट्छ, त्यो वर्ष जीडीपीको अवस्था पनि खुम्चिन्छ। यो वर्ष सरकारले पहिलोपटक रोपाइँ सुरु हुनुअघि धानको समर्थन मूल्य तोकेको छ।
समाजिक दूरी कायम गरी धान दिवस
सामाजिक दुरी कायम गरेर सरकारले यो वर्ष पनि राष्ट्रिय धान दिवस मनाउने तयारी गरेको छ। असार १५ मा कृषि विभागले समाजिक दुरी कायम गरी नेपाल कृषि अनुसन्धान परिषद(नार्कं) मा यो दिवस मनाउने तयारी गरेको हो। विभागले शुक्रबार पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो।
विभागका महानिर्देशक कञ्चनराज पाण्डेकाअनुसार दिवसको दिन २५ जनाभन्दा बढीको संख्यामा रोपाहार भएको अवस्थामा एक व्यक्ति र दोस्रो व्यक्तिबीच न्यूनतम ६ फिट समाजिक दुरी कायम गर्ने व्यवस्था गरिएको छ। कार्यक्रम स्थलमा ६ फिटको दुरी कायम हुने गरी फर्निचर र अन्य सामग्री व्यवस्थापन गर्न भनिएको छ। कार्यक्रम स्थलमा सकेसम्म कोभिड १९ सम्बन्धी तापक्रम र लक्षण पहिचान गरी प्रवेश दिने व्यवस्था गरिनुका साथै एक आपसमा हिलो नछ्याप्ने, धान धुने साबुन र स्यानिट्याइजर र मास्कको व्यवस्थापनलगायत नियम बनाइएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राजेश बर्माले लेखेका छन् ।
-
प्रतिसोधको राजनीतिले कसैलाई फाइदा गर्देन ! सिताराम थारु
३ हप्ता अगाडि -
पैसा बाँडेको आरोपमा मुस्लिम आयोगका अध्यक्ष पक्राउ
३ महिना अगाडि -
माैन अवधिमा उपत्यकाबाट बाहिरिए १ लाख ४२ हजार यात्रु
३ महिना अगाडि