होम क्वारेन्टाइनका लागि सिफारिस फिल्म ‘बाला’
कोरोना भाइरसको महामारी फैलिरहेको बेला संसारभरका आधा मानिस होम क्वारेन्टाइनमा छन्। महामारी बढ्दो क्रममा छ। अहिलेसम्म करिब २५ हजार मानिसले ज्यान गुमाइसके। कोरोनाबाट बच्न बाहिर कतै हिँडडुल गर्न नपाइने, कसैलाई भेट्न नहुने, सचेत बन्नुपर्ने भएकाले पनि निरन्तर घरमै बसिरहन गाह्रो हुन सक्छ। व्यस्त जिन्दगी बाँचिरहेकालाई दिन कसरी बिताउने भन्ने हुन सक्छ।
यसका लागि डिजिटल लाइब्रेरी पढ्ने, राम्रा फिल्म हेर्ने, नाटक तथा सांगीतिक कार्यक्रम अनलाइनमै हेर्ने गर्न सकिन्छ। पछिल्लो समय प्रदर्शनमा आएका, ग्रेडिङ पनि राम्रो पाएका र बक्स अफिसमा राम्रो कमाइ गरेका केही फिल्ममध्ये पर्छ बाला। सन् २०१९ मा फिल्ममध्ये एक सशक्त फिल्म हो बाला।
बाहिरी सुन्दरताको मनोविज्ञानमा बनेको एक सशक्त फिल्म हो बाला। मानिसहरू सुन्दर भएर हिँड्न चाहन्छन्। ‘कपाल राम्रो होस्, हाइट पनि गजबको होस्, अनुहार गोह्रो र आकर्षक होस्, मिलेको जिउज्यान होस्’ यो चाहना आजका हरेक मानिसको हो। सुन्दरताकै लागि मानिसले लाखौं रकम खर्च गरिरहेका हुन्छन्। विश्वमा सुन्दरताका सामग्री उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी पनि चलायमान छन्। जे जसरी होस् मानिस आकर्षक र सुन्दर बन्न चाहन्छ।
बाला चलचित्रको मुख्य पात्र हुन् आयुष्मान खुराना। जसको तालुमा कपाल छैन। अफिसको काममा परिपक्व छ ऊ। स्कुल कलेजको पढाइमा अब्बल छ। तालुमा कपाल नभएकै कारण उसलाई साथीहरूले जिस्क्याउँछन्। सानैदेखि साथीहरूको जिस्क्याइ, हेपाइमा परेको बालामा कपाल नभएकै कारण उत्पन्न भएको मनोविज्ञानलाई चलचित्रले मुख्य विषयवस्तु बनाएको छ।
अमर कौशिकको निर्देशनमा निर्माता दिनेश विजनले यो फिल्म निर्माण गरेका हुन्। निरेन भट्टको पटकथामा कलाकार अभिनेता आयुष्मान खुराना, भूमि पेडनेकर, यामी गौतमको अब्बल अभिनय छ।
फिल्ममा नायिका भूमि पेडनेकर कालो छाला भएकी पात्र लतिका त्रिवेदीको भूमिकामा छिन्। अर्की नायिका यामी गौतम मोडलिङमा चर्चित परी पात्रको भूमिकामा छिन्। आयुष्मान खुरानाले स्वयम् बाला पात्रलाई न्याय गरेका छन्। बाला एक कम्पनीमा काम गर्छ। उसले टिकटकमा भेटेकी मोडल परीलाई अत्यन्तै मन पराउँछ। परीलाई आफ्नो बनाउने कोसिसमा उसले कयांैपटक तालुमा कपाल उमार्न धाउँछ।
कहिले आयुर्वेदिक औषधिका रूपमा गाईको गोबर दल्छ त कहिले हेयर ट्रान्सप्लान्टका लागि अस्पताल धाउँछ। उसलाई सुन्दर देखिनु छ। कपाल नभएका कारण आफ्नै बुवाको वंशाणु गुणमा प्रश्न उठाउँदै सवाल गर्छ। आफूले मन पराएकी युवतीको नजिक जान डर मान्छ। भित्रभित्रै कमजोर बनेको छ ऊ। बालाको कपाल प्रेम उसको आत्मविश्वाससँग जोडिएको छ। आफ्नो खाली तालु हेर्न नसकेर उसले कोठाभित्रको आधा ऐना कपडाले छोपेर राखेको छ। उसका लागि सुन्दर कपाल हुनु भनेको संसार जित्नु हो।
नक्कली कपाल लगाएको दिन ऊ खुसीले पुलकित बनेको छ। संसारभरको सुन्दर युवक हुँ भन्ने ठान्छ। परीलाई प्रेमप्रस्ताव राख्न जान्छ। नक्कली कपालकै आवरणमा उसमा बढेको आत्मविश्वास, परी र बालाको प्रेम हँुदै विवाहसम्मको दृश्य, विवाहकै दिन उसको नक्कली कपालको राज खुलेपछिको परीले छाडेर गएको, झुट बोलेर विवाह गरेको भन्दै अदालतमा परेको सम्बन्धविच्छेदकै वरिपरि फिल्मको कथा घुमेको छ।
हाम्रो समाजमा अझै पनि विवाह गर्ने क्रममा गोरो छाला भएकी युवती खोज्ने गरिन्छ। गोरो छाला हुनु भनेको सुन्दर देखिनु हो भन्ने मानक राखिएको पाइन्छ। सुन्दरता र गोरो छालालाई पर्यायवाची शब्दकै रूपमा व्याख्या गरिन्छ। यही गलत व्याख्याको चपेटामा परेकी छ लतिका त्रिवेदी। ऊ पढाइमा अब्बल छे। चर्चित वकिल हो। कालो छाला भएकै कारण उसले समाजमा चर्को आलोचना खेप्नु परेको छ। उसको क्षमतालाई पनि कालो छालाकै कारण अवमूल्यन गरिएको छ। बालाको बालसखा लतिकाले काली भएकै कारण अनेक हिंसा पनि भोग्नुपर्यो।
बिहेका लागि हेर्न आएको युवकका परिवारले उसको छालाको रङ हेरेर व्यंग्य गर्छन्। कालो छाला भएका हरेक मानिसले अघोषित रूपमा भोग्नु परेको पीडा निर्देशकले सशक्त रूपमा उठाएका छन्। मानिसले आफूलाई जस्तो छ उस्तै रूपमा स्वीकार गर्न नसक्ने मनोविज्ञानलाई फिल्मका पात्रले न्याय गरेका छन्।
अरूले जे भने पनि लतिकालाई पर्वाह छैन। उसले आफूलाई माया गर्छे। आत्मविश्वासी छे। बिहेका लागि हेर्न आएको युवकको परिवारले आफ्नो छालाको रङमा प्रश्न उठाएपछि उसले विवाह नै लत्याएर हिँडेकी छ। समाजका थोरै पात्रको प्रतिनिधित्व गर्छे ऊ। जसले बालालाई पनि कपालबिना पनि सुन्दर बन्न सकिन्छ भन्ने सिकाउँछे। बाला र परीको सम्बन्धविच्छेदको मुद्दा लड्दै गर्दा उसले बालालाई पूर्ण रूपमा परिवर्तन गर्छे। ऊ भन्छे, ‘सबैभन्दा पहिले आफूले आफंैलाई माया गर्नुपर्छ, स्वीकार गर्नुपर्छ। आफैंले स्वीकार गर्न नसके अरूले जिस्क्याए भनेर कमजोर बन्नु आफ्नै कमजोरी हो।’
चलचित्र बाला, परी र लतिकाका जीवनका व्यक्तिगत घटनाकै वरिपरि अल्झिरहन्छ। परी टिकटकमा भिडियो चर्चित हुनुको श्रेय आफ्नो सुन्दर रूप र गोरो छालालाई दिन्छे। उसका लागि सुन्दर र आकर्षक हुन भनेकै सफल हुनु हो। बिहेपछि उसले हर हालतमा आफ्नो श्रीमान् सुन्दर हुनैपर्ने दबाब दिन्छे। तालुमा कपाल नभएको श्रीमानलाई स्वीकार गर्न सक्दिन।
फिल्मको कथावस्तु सरर बगेको छ। कृत्रिम सुन्दरताका पछि दौडदै गर्दा आफूलाई गुमाएको पत्तो पाउँदैन मन्छे। आफूबाट टाढा भाग्दै जान्छ मान्छे। हर मान्छेले जे जस्तो भए पनि आफूलाई माया गर्नुपर्ने र स्वीकार गर्नुपर्ने शिक्षा छाड्न सफल छ यो फिल्म। करिब दुई घण्टा ११ मिनेट लामो फिल्मले दर्शकलाई मनोरञ्जनका साथ शिक्षा दिन सफल छ।
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४