add post
  • Terai Nepal
  • २०७६ चैत्र १९ गते, बुधबार १६:४४ मा प्रकाशित

युइएफएद्वारा जुन महिनाको सबै खेल स्थगित

काठमाडौं । यूरोपियन फुटबलको सर्वोच्च संस्था युइएफएले आगामी जुन महिनामा हुने सबै खाले फुटबल प्रतियोगिता स्थगित गरेको छ । युइएफएले बुधबार ५५ सदस्य राष्ट्रसँग भिडियो कन्फ्रेन्स गर्दै जुन महिनामा तय भएको युरोपका राष्ट्रिय टिमका खेलहरु समेत स्थगित गरेको हो । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको कारण खेलहरु स्थगित गरिएको हो ।

जसमा युरो २०२० को प्लेअफ म्याच र वुमन्स युरो २०२१ को छनोट खेलहरु रहेका छन् । युरोकप यसअघि २०२१ को लागि सरिसकेको छ । यस्तै युइएफएअन्तर्गत पर्ने सबै क्लब प्रतियोगिता समेत स्थगित गरिएको युइएफएले जनाएको छ । यसको अर्थ च्याम्पियन्स लिग र युरोपा लिग पनि स्थगित भएको छ । युइएफएले अर्को सूचना नआएसम्मको लागि खेल स्थगित गरिएको जनाएको छ ।

यस्तै युइएफएले उमेर समूहको केही प्रतियोगिता रद्द नै गरेको छ भने केही स्थगित गरेको छ । मे मा तय भएको यूरोपियन यू१७ च्याम्पियन र जुनमा तय भएको वुमन्स यूरोपियन यू१९ च्याम्पियन्सिप रद्ध गरिएको छ ।

जुलाईमा तय भएको युइएफए यू१९ च्याम्पियनसिप स्थगित गरिएको छ । उक्त प्रतियोगिता फिफा यू२० वर्ल्डकपको छनोट प्रतियोगिता समेत हो । यस्तै मे मा तय भएको यूरोपियन वुमन्स यू१७ च्याम्पियनसिप स्थगित गरिएको छ ।

यस प्रतियोगिता फिफा यू१७ वर्ल्डकपको छनोट प्रतियोगिता समेत हो ।

यसैगरी २०२० अप्रिलमा मतय भएको युइएफए फुटसल च्याम्पियनसिप फाइनल पनि स्थगित भएको छ ।