add post
  • Terai Nepal
  • २०७७ बैशाख ११ गते, बिहीबार १३:२९ मा प्रकाशित

नेपालको रेमिटेन्स एक खर्ब घट्ने विश्व ब्यांकको अनुमान

 बैशाख ११- विश्व ब्यांकले यो वर्ष नेपालको रेमिटेन्स १४ प्रतिशत घट्ने अनुमान गरेको छ । प्रवासन र विकाससम्बन्धि संक्षिप्त प्रतिवेदन सार्वजनिक गर्दै ब्यांकले कोरोना भाइरसका कारण संसारभरिको आर्थिक क्रियाकलाप सुस्त भएपछि कामदारको श्रम आय घटेर रेमिटेन्स समेत ओरालो लाग्ने बताएको हो ।
गत आर्थिक वर्षमा नेपालले वैदेशिक रोजगारीमा गएका नेपालीबाट रु. ८ खर्ब ७९ अर्ब रेमिटेन्स भित्र्याएको थियो । विश्व ब्यांकले अनुमान गरेअनुसार यो वर्ष १४ प्रतिशत रकम घटे करिब सबा एक खर्ब रेमिटेन्स कम भित्रिन्छ ।
चालु आर्थिक वर्षको पहिलो आठ महीना (फागुनसम्म) मा रु. ५ खर्ब ९२ अर्ब रेमिटेन्स भित्रिएको नेपाल राष्ट्र ब्यांकले जनाएको छ । चैतयता रेमिटेन्स ह्वात्तै घटेको आकलन गरिएको छ ।
सन् २०२० मा संसारभरिको रेमिटेन्स २० प्रतिशत घट्ने ब्यांकले प्रक्षेपण गरेको छ । ब्यांकका अनुसार, दक्षिण एशियाको मात्रै रेमिटेन्स आप्रवाह २२.१ प्रतिशत खुम्चनेछ । जसमा सबैभन्दा धेरै भारत र पाकिस्तानको रेमिटेन्स समान २३ प्रतिशतले गुम्ने विश्व ब्यांकले अनुमान गरेको छ । यो वर्ष बंगलादेशले २२ र श्रीलंकाले १९ प्रतिशत रेमिटेन्स आय गुमाउने प्रक्षेपण छ ।
यद्यपि, सन् २०२१ मा रेमिटेन्स आयमा सामान्य सुधार हुने आकलन गरिएको छ ।