add post
  • Terai Nepal
  • २०७७ आश्विन १९ गते, सोमबार १२:१८ मा प्रकाशित

विराटनगर अस्पतालबाट हामफालेर बिरामीले गरे आत्महत्या

विराटनगर / विराट नर्सिङ होम एवं विराटनगर अस्पतालको दुई तलामाथिबाट हामफालेका एक जना बिरामीको मृत्यु भएको छ । अस्पतालको आईसीयूमा उपचाररत मोरङको मिक्लाजुङ गाउँपालिका–७ का ५३ वर्षीय अमृत गजमेरले सोमबार बिहान ५ः३० बजेतिर हामफालेको प्रहरीले जनाएको छ । उनको उपचारका क्रममा बिहान ९ बजे मृत्यु भएको हो । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले प्रारम्भिक अनुसन्धानबाट आत्महत्या गर्ने उदेश्यले हामफालेको हुन सक्ने देखिएको बताए ।

शनिबार अस्पताल भर्ना गरिएका उनलाई फोक्सोमा गम्भीर समस्या देखिएकोभन्दै चिकित्सकको सल्लाह बमोजिम त्यही दिनदेखि आईसीयूमा राखेर उपचार थालिएको प्रहरीले जनाएको छ । आईसीयूबाट गर्मी भएको बहाना बनाउँदै बाहिर निस्किएका गजमेरले दुई तलामाथिबाट हामफालेको जानकारी अस्पतालले प्रहरीलाई गराएको छ ।

हामफालेपछि गम्भीर बनेका उनलाई उद्धार गरेर अस्पतालकै आईसीयूमा उपचारका लागि भर्ना गरिएको थियो । तर उनी जीवित रहन सकेनन् । अस्पतालले यस घटनाको आधिकारिक जानकारी दिइसकेको छैन । उपचाररत अवस्थामा उनले किन आत्महत्याको बाटो रोजे भन्ने यकिन हुन नसकेको एसपी खड्काले बताए । मृत्यु अस्वभाविक देखिएका कारण अत्महत्या हो कि हैन भन्ने बारेमा घटनाको गम्भीर रुपमा अनुसन्धान थालिएको उनले बताए । शव पोस्टमार्टमका लागि कोशी अस्पताल लैजाने तयारी प्रहरीले गरेको छ ।