add post
  • तराई नेपाल
  • २०७७ श्रावण २७ गते, मंगलवार ०८:१९ मा प्रकाशित

थारू समुदायका कान्हा

भाउ ट भइल भिनसरिया, मुरुगा एक बोलल,
उठो पुटा बार कान्हा बछरू न छोर

जतिजति श्रीकृष्णजन्माष्टमी नजिकिन्छ, थारू समुदायका मानिसका मनमा कान्हाबारे यो गीत गुनगुनिन थाल्छ। भारतीय महाद्वीपमा उनै कान्हाको चरित्र चित्रण १४५० ईश्वीतिर आरम्भ भएको मानिन्छ। पन्ध्रौं शताब्दीको उत्तराद्र्धमा यस परम्पराले व्यापकता लियो। त्यसैको प्रभाव थारू लोकसंस्कृतिमा पनि आइपुग्यो। कालान्तरमा कान्हा पुजन राजदरबार, ठूलाठूला सामन्तका हवेलीमा सीमित रह्यो। थारू लोकसंस्कृतिमा भने गाउँका अगुवा महटाँवा, बरघरहरूका घरमा यथावत् छ (थारू, २०७०: ६१)।

कान्हा अर्थात् कृष्णलाई हिन्दु धर्ममा आस्था राख्ने विभिन्न जाति तथा समुदायले आआफ्नै तरिकाले पूजाआजा गर्छन्। कान्हा थारू समुदायमा यति बलियो जरा गाडेर बसेका छन् कि गीत, नृत्य तथा कला यी तीनै माध्यमद्वारा पुजिने उनी एक मात्र देउता हुन्। अष्टिम्की अर्थात् कृष्ण जन्माष्टमीमा उनको विशाल महिमा गाइन्छ। यसमा कान्हा महिमा मात्र होइन, सृष्टिको कथा पनि अन्तर्निहित रहेको छ। सोही गीतलाई मादलको तालमा दसैंमा नाचिने सखिया नाचमा पनि प्रस्तुत गरिन्छ।

अष्टिम्की कला बनाउने व्यक्ति निराहार बस्नुपर्छ। अष्टिम्की कला घरको उत्तरपट्टिको भित्तामा बनाइन्छ। चित्र बनाउनुभन्दा पहिले विभिन्न रङहरूको बुट्टाले मूल घेरा बनाइन्छ। मूल घेराभित्त तीन कोठा छुट्ट्याइन्छ। यसको शीर्ष स्थानमा बाँसुरी बजाइरहेको कृष्णको प्रतीक बनाइएको हुन्छ। माथिल्लो कोठामा बनाइएको पुरुषाकृति पाँच पाण्डवको रहेको भनाइ छ। ती चित्रमा मादल भिरेका, बाँसुरी बजाइरहेका, छाता ओढेको आदि हुन्छ। त्यसका दायाँ सूर्य र बायाँ कुनामा चन्द्रमाको आकृति बनाइएको हुन्छ। बीचका कोठामा पनि माथिल्लो कोठामा बनाइएको पुरुषाकृति संख्याको बराबरमा महिला आकृति बनाइन्छ। ती महिला आकृति कृष्णका १६ सय गोपिनीहरूका प्रतीकका रूपमा बनाइएको कथन छ।

सबैभन्दा तल्लो कोठामाथिको दुवै कोठाभन्दा ठूलो हुन्छ। यसमा रावण (बरमुरुवा), डोली, हात्ती, घोडा, कुकुर, बाँदर, मयुर, मुर्गाजस्ता पशुपक्षी तथा विभिन्न प्रकृतिसँग सम्बन्धित कजरीको वन, कमलको पात आदि आकृति बनाइएको हुन्छ।

तल्लो कोठाको पश्चिमपट्टि बाह्रटाउके रावणको प्रतीक बनाइन्छ। लेखक छविलाल कोपिलाका विचारमा कृष्णको जीवनमा आधारित अष्टिम्कीमा खलपात्रका रूपमा कंस आउनुपर्नेमा रावणको चित्र राखिनुले एक रहस्य उत्पन्न गरेको छ। त्यहाँ उनको चित्र बनाइए पनि उनलाई पूजा गर्दा सिन्दूर लगाइदिने चलन भने छैन। कसैले हतारमा पूजा गर्दा उनको चित्रमा झुक्किएर सिन्दूर लगाएर पूजा गरेमा पूजा गर्नेका बालबालिका रुने खालका जन्मिने जनविश्वासले यो चित्रलाई रोइना पनि भनिन्छ।

त्यस्तै अन्य चित्रमा डोलीभित्र एक पुरुष र महिलाका बीचमा अपूर्ण मानव आकृति बनाइएको हुन्छ, जसलाई वासुदेव, देउकी र बीचमा अपूर्ण कृष्णको चित्र ठानिन्छ। राति भाले बासेपछि अष्टिम्की पूजा गरिने घरको मुख्य ‘महटिन्याँ’ ले अरूकै बारीबाट चोरेर ल्याएको चिचिन्डो पुजेर अपूर्ण कृष्णलाई पूर्ण बनाउँछिन्। आठौं सन्तानका रूपमा जन्मेका कृष्णलाई मामा कंसले मार्न नपाऊन् भनेर डोलीमै जन्म भएको र त्यसैमा राखेर यमुना नदीसम्म पुर्‍याउन प्रयोग गरिएको भन्ने कथन पनि छ।

कृष्ण आफ्ना गाई–गोरु चराउन लैजाने बृन्दावन होस् या बारी फूलबार जाँदा बाटोमा छिचोलेका वनजंगल हुन्, त्यसलाई ‘कजरिक बन्वा’ को प्रतीकका रूपमा चित्र बनाइन्छ। कृष्णले आफ्नो मुरलीको धुनले चराचुरुंगी, जनावर सबैलाई मोहित बनाउने हैसियत राख्थे। अष्टिम्की काव्यमा कोइली, ढुकुर तथा गरुड चरासँग कृष्णको वार्तालाप भएको प्रसंग छ। अष्टिम्की चित्रमा मयुरको चित्रले ती सबै चराको प्रतिनिधित्व गर्छ।

डुंगा सयर प्रेमलाई उत्कर्षमा पुर्‍याउने साधनका रूपमा मानिन्छ। अष्टिम्की÷सखिया काव्यमा राधा दही बेच्न जाँदा होस् या फर्किंदा कान्हाले डुंगा तारेर सहयोग गर्छन्। कान्हालाई डुंगा बनाउने तरिका राधाले नै बताएकी छिन्। तर डुंगा तार्दा होस् या दहीको भाँडा उचाल्दा कान्हाले राधासँग रसरङमा सहभागी हुनुपर्ने बाध्यता तेस्र्याउँछन्। यसरी कान्हाले राधासँगको प्रेम बिटुल्याएका छन्।

अष्टिम्की काव्यमा वर्णित रैनी एक अद्भुत माछा हो, जुन जल–थल दुवै ठाउँमा बस्न सक्छ। सृष्टिकर्ता गुर्बाबाले जब यो पृथ्वी सृष्टि गर्ने बेला जल र स्थल बनाए। र, पृथ्वीमा मत्स्य अवतारका रूपमा रैनी माछाको जन्म भयो। अष्टिम्की चित्रमा पनि यसको चित्र बनाउने गरिएको छ। कान्हाका पिता इसरू यही रैनी माछाको पिठ्युँमा चढेर हलोका लागि काठ काट्न गएका छन्। इसरूको भोजनमा रैनी माछाको परिकार पाकेको छ। यसैको बिम्ब अष्टिम्की चित्रमा माछाले स्थान पाएको छ।

अष्टिम्की काव्यमा सृष्टिको सिर्जनापछि इसरू हलोका लागि काठ काट्न गएका छन्। वनबाटै हलोका लागि चाहिने सबै सरसमान पनि तयार पारेर ल्याएका छन्। हलो तयार भएपछि बसाहा र सिलाहा सेडुर गोरु लिएर खेत जोत्न गएका छन्। थारूहरूको यही जीवनशैली र कृषि प्रणालीको बिम्बका रूपमा हलो जोत्दै गरेको हलीले अष्टिम्की चित्रमा स्थान पाएको छ।

सोह्र सय गोपिनी नुहाउने ठाउँ जहाँ सुन्दर कमलका फूल पनि थिए। फूलसँगै कञ्चन पानी, त्यही पानीमा गोपिनीहरू नुहाउन मस्त हुन्थे। त्यसैबला कृष्ण उनीहरूको कपडा लुकाएर आनन्द लिने गर्थे। लाज ढाक्न त्यही कमलको पात प्रयोग गर्ने भएकाले त्यसैको प्रतीकका रूपमा कमलको पात चित्रमा बनाइन्छ।

समयबोधक पन्छी जसको बोली सुनेर मानिसले समय निधारण गर्छन्। अष्टिम्कीमा पनि समयभित्र सबै काम गर्नुपर्ने भएकाले भालेको ठूलो भूमिका रहेको छ। अष्टिम्की काव्यमा भालेको सन्दर्भ समयसूचकका रूपमा आएको छ। भाउ ट भइल भिनसरिया, मुरुगा एक बोलल, उठो पुटा बार कान्हा बछरू न छोर अर्थात् कान्हालाई आमाले बिहान भयो, भाले बास्यो, उठ पुत्र बाच्छा छाड्न भनेर ब्युँझाएकी छिन्।

अष्टिम्की चित्रमा काली नागले पनि स्थान पाएको हुन्छ। काव्यमा काली नागको फुपकारले कान्हा बारी फूलबारमा बेहोस हुँदा गरुडले जडिबुटी औषधि गरी ठीक पारेको छ। यसबाहेक कुकुर, हात्ती, घोडा, उँट, चराचुरुंगीलगायतका जनावर तथा पशुपक्षी अष्टिम्की चित्रमा स्थान पाएका हुन्छन्। काव्यमा पनि यी जनावरको सन्दर्भ आएको छ।

मूल चित्रबाहेक अर्को छुट्की अष्टिम्की चित्रमा बालबालिकाले चित्र बनाउने अवसर पाउँछन्। छुट्की अष्टिम्की चित्र बनाउने प्रक्रिया पुस्ता हस्तान्तरणका लागि राम्रो माध्यम भएको छ। २०७० सालदेखि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कला प्रदर्शनीमा समेत अष्टिम्की कलाको सहभागिता भई थारू लोककलाकारलाई पुरस्कृतसमेत गरिन थालिएको छ। यसले यो चित्र बनाउने परम्परा घरघरमा छिर्न थालेको छ।

प्रेमको उत्कर्ष विवाह हो। अन्य ग्रन्थमा राधा कान्हाको विशुद्ध प्रेमिकाका रूपमा चर्चा गरिए पनि थारूहरूको अष्टिम्की काव्यमा कान्हा र राधा शंख बजिरहेको पृष्ठभूमिमा पीपलको परिक्रमा गर्दै वैवाहिक बन्धनमा बाँधिएका छन्। यो लेख आजको अन्नपूर्ण पोस्ट दैनिकबाट लिएको हो ।

Registration Open for Mr. & Miss Tharu 2020
तराईसबै