add post
  • Terai Nepal
  • २०७७ असार ८ गते, सोमबार २३:०४ मा प्रकाशित

बाह्रखरी कथा प्रतियोगिता-२०७७ मा मुना चौधरीको कथा ‘लार’ प्रथम

काठमाडौं- बाह्रखरी बुक्सको राष्ट्रव्यापी खुला आधुनिक कथा प्रतियोगिता–२०७७ मा मुना चौधरीको कथा ‘लार’ प्रथम भएको छ। कथामा प्रथम भएकी लहान सिराहाकी कथाकार चौधरीले एक लाख नगद पुरस्कार, सिल्ड र प्रमाणपत्र प्राप्त गरेकी छन्।

वैशाख १२ मा विजेता घोषणाको तयारी भए पनि लकडाउनका कारण हुन सकेको थिएन। सोमबार काठमाडौंको चन्द्रागिरिबाट विजेताहरुको नाम अनलाइन घोषणा गरिएको थियो।

दोस्रो स्थानमा वीरगन्जका श्रेयज सुबेदीको ‘बेजोडा’ शीर्षकको कथा छानिएको छ भने तेस्रो स्थानमा काभ्रे तेमालका दीपेन्द्र दोङ तामाङको कथा ‘बुलेट बाइक’ रहेको छ। दोस्रो र तेस्रो हुने कथाकारलाई क्रमशः ६० हजार र ४० हजार रुपैयाँ प्रदान गरिएको छ।

यस प्रतियोगितामा भाग लिएका करिब ६ सय प्रतियोगीमध्ये विजयी तीनजनासहित २५ उत्कृष्ट कथाको चयन आख्यानकार तथा पत्रकार नारायण वाग्लेको संयोजकत्वमा रहेको उपन्यासकार अमर न्यौपाने र साहित्यकार बिना थिङ तामाङ समूहको निर्णायक मण्डलले गरेको थियो।

छानिएका २५ कथाहरूको संगालो ‘उत्कृष्ट कथा २०७७’ पनि बाह्रखरी बुक्सले आजै सार्वजनिक गरेको छ। डिजिटल भर्सनमा निकालिएको सो पुस्तक र सोही पुस्तकको अडियो बुक्स पनि डिजिटल पत्रिका बाह्रखरीको वेबसाइटमा निःशुल्क डाउनलोड गर्न सकिने व्यवस्था गरेको बाह्रखरी बुक्सले जनाएको छ।

Registration Open for Mr. & Miss Tharu 2020
तराईसबै